दुर्गापुर बलात्कार घटनामा राज्यपालले राष्ट्रपतिलाई र गृह मन्त्रालयलाई विस्तृत रिपोर्ट पेश गरे
दुर्गापुर बलात्कार घटनामा राज्यपालले राष्ट्रपतिलाई र गृह मन्त्रालयलाई विस्तृत रिपोर्ट पेश गरे


कोलकाता, 16 अक्टोबर (हि.स.)। पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले दुर्गापुरमा दलित छात्रासँग भएको कथित सामूहिक बलात्कार घटनाबारे राष्ट्रपति द्रौपदी मुर्मु र केन्द्रिय गृह मन्त्रालयलाई विस्तृत रिपोर्ट पेश गरेका छन्। यो जानकारी राजभवनका एक अधिकारीले बिहिबार बिहान पुष्टि गरेका छन्।

राजभवनका अनुसार, रिपोर्ट राज्यपालको दुर्गापुर भ्रमणमा आधारित छ, जहाँ उनले पीड़िताको परिवारसँग भेटवार्ता गरेका थिए।राज्यपाल बोसले बुधबार कोलकातामा एक व्यावसायिक कार्यक्रममा महिलामाथि बढ्दो हिंसाबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए। उनले भनेका थिए, “हालका दिनहरूमा महिलामाथि भएका अपराध घटनाहरूमा दुर्गापुर घटना पनि सामेल छ। अब भन्न गाह्रो छ कि पश्चिम बंगाल महिलाहरूका लागि सुरक्षित राज्य हो।”

यो घटना 10 अक्टोबरको रातको हो। दुर्गापुरको एक निजी मेडिकल कलेजमा सेकेन्ड इयर पढ्ने ओडिशाका छात्रासँग त्यस समयमा सामूहिक बलात्कार भएको थियो, जब उनी आफ्नो पुरुष साथीको साथ बाहिर गइरहेकी थिइन्।

पुलिसले यस मामलामा अहिलेसम्म छ जना पक्राउ गरेका छन् र सबैलाई न्यायिक हिरासतमा राखिएको छ। राज्यपालले यस घटनामा प्रशासनिक प्रणालीको पनि आलोचना गरेका छन्। उनले भने, “हामीले जे देखिरहेका छौं, त्यो केवल हिमशैलको माथिल्लो भाग हो। यसको तल प्रशासनको असक्षमता लुकेको छ, जुन व्यवस्था सञ्चालनको जिम्मेवार हो।”

उनले राज्यको पुलिस प्रशासनमाथि पनि प्रश्न उठाएका छन्। बोसले भने, “राज्यमा कानून-व्यवस्था कायम राख्नु पुलिसको प्रमुख जिम्मेवारी हो। तर वर्तमान परिस्थितिलाई हेर्दा भन्न गाह्रो छ कि पुलिसले आफ्नो भूमिका सही तरिकाले निभाइरहेको छ। बंगाल एक ‘सफ्ट स्टेट’ बनेको छ, जहाँ कानूनको सही पालन र यसको कार्यान्वयन भइरहेको छैन।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande