
सोनादा, 31 अक्टूबर (हि.स.)। सोनादा क्षेत्र अन्तर्गत 8 माइलमा बिहिवार राति भएको वाहन दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने 6 जना घाइते भएको जानकारी प्राप्त भएको छ। सिलगढीदेखि दार्जिलिङतर्फ प्यासेञ्जर बोकेर आइरहेको गाडी राति लगभग 7.30 देखि 8 बजीको समयमा गोराबारी नजिक राष्ट्रिय राजमार्ग 110 अन्तर्गत 8 माइल नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ।
मृतकहरूको नाम अभिमन्यु प्रसाद र अरुण मुखिया भनी चिन्हित गरिएको छ। गाडीमा सवार 6 जना गम्भीर घाइते भएकाहरुलाई सोनादा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि दार्जिलिङ सदर अस्पताल रेफर गरिएको छ। उक्त दुर्घटना स्थलमा पुलिस प्रशासन, अग्निशमन विभाग र स्थानीय मानिसहरूले उद्धार कार्य गरेका थिए।
यस उध्दार कार्यमा जोरबंगलो पुलिस थाना, सोनादा पुलिस आउट पोष्टको पुलिसहरु र सोनादा ट्राफिक पुलिसहरु पनि रहेको बताइएको छ। दुर्घटनापछि सोनादा उप स्वास्थ्य केन्द्रमा उपचारको लागि ल्याइएका घाइतेहरुसित भेट्न जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, सभासद नुरी शेर्पा, रोगी कल्याण समितिका सभापति दिवस छेत्री र कर्माध्यक्ष बबिन्द्र राई पनि पुगेका थिए।
जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले दार्जिलिङ र खरसाङबाट एम्बुलेन्सहरु बोलाएर घाइतेहरुलाई सोनादा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको गराउनु साथै दार्जिलिङ रेफर गराउन सहयोग गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / हनोक