बिहारमा अब पलायन रोकिने, एनडीए सरकारले युवाहरूलाई राज्यमै रोजगारीको अवसर दिइरहेको छ: प्रधानमन्त्री
PM Narendra Modi Addressing the gathering


– ६२ हजार करोड रुपियाँको विभिन्न युवा–केन्द्रित योजनाहरूको शुभारम्भ

– राष्ट्रिय कौशल दीक्षान्त समारोहमा आईटीआईका ४६ टपर विद्यार्थी सम्मानित

नयाँ दिल्ली, ४ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार ६२ हजार करोड रुपियाँभन्दा बढीको विभिन्न युवा–केन्द्रित योजनाहरूको शुभारम्भ गर्दै भने, एनडीए सरकारले प्रतिबद्धता जनाएको छ कि अब बिहारका युवाले आफ्नो राज्यमै सम्मानजनक रोजगारी पाउनेछन् र पलायनको अवस्था अन्त्य हुनेछ। उनले भने, पहिले शिक्षा र रोजगारीको अभावमा लाखौं युवा बिहार छोडेर अन्य राज्यतर्फ जानुपर्ने बाध्यता थियो, तर आज राज्य विकासको नयाँ युगमा प्रवेश गरिसकेको छ।

प्रधानमन्त्रीले विज्ञान भवनमा आयोजित राष्ट्रिय कौशल दीक्षान्त समारोहलाई सम्बोधन गर्दै देशभरका औद्योगिक प्रशिक्षण संस्थान (आईटीआई) का ४६ उत्कृष्ट विद्यार्थीलाई सम्मानित गरे। मोदीले यस समारोहलाई भारतमा कौशल विकासलाई नयाँ प्रतिष्ठा दिने प्रतीक बताए।

प्रधानमन्त्रीले यस अवसरमा प्रधानमन्त्री कौशल र रोजगार परिवर्तन (पीएम–सेतु) योजना सुरु गरे। यसअन्तर्गत ६० हजार करोड रुपियाँको लगानीमा देशभरका १,००० आईटीआईलाई हब–एण्ड–स्पोक मोडलमा आधुनिक बनाइनेछ। यसमा २०० हब आईटीआई र ८०० स्पोक आईटीआई समावेश हुनेछन्। यी माध्यमबाट आधुनिक पूर्वाधार, डिजिटल लर्निङ सिस्टम र इनक्यूबेशन सुविधाहरू उपलब्ध गराइनेछ। मोदीले भने, “पीएम–सेतुले भारतका युवालाई विश्वव्यापी कौशल मागसँग जोड्नेछ।”

प्रधानमन्त्रीले बताएअनुसार हाल देशका आईटीआईमा १७० ट्रेडमा प्रशिक्षण दिइँदैछ र पछिल्ला ११ वर्षमा डेढ करोडभन्दा बढी युवालाई कौशल प्रशिक्षण मिलिसकेको छ। २०१४ सम्म देशमा १०,००० आईटीआई थिए, जबकि पछिल्लो दशकमा थप ५,००० स्थापना गरिएको छ।

मोदीले विशेष रूपमा बिहारको उल्लेख गर्दै भने, बिहारको युवा जनसंख्या देशको शक्ति हो। युवाको सामर्थ्य बढ्दा भारतको शक्ति पनि बढ्छ। दुई दशकअघि बिहारको शिक्षा प्रणाली पूर्ण रूपमा कमजोर थियो—स्कूल खुल्दैनथ्यो, भर्ती हुँदैनथ्यो। मजबूरीमा लाखौं बालबालिकाले बनारस, दिल्ली र मुम्बईतर्फ पलायन गर्नु परेको थियो। उनले आरजेडीको कुशासनले बिहारको जरा नष्ट गरेको बताए।

प्रधानमन्त्रीले भने, नीतीश कुमारको नेतृत्वमा एनडीए सरकारले बिग्रिएका व्यवस्थाहरू सुधार गरेको छ। आज बिहारमा शिक्षा बजेट बढेको छ, प्रत्येक गाउँमा स्कूल खुलिसकेका छन् र पछिल्ला दुई वर्षमा ढाई लाखभन्दा बढी शिक्षक नियुक्त भएका छन्। अब लक्ष्य भनेको बिहारका युवाले राज्यमै रोजगारी पाउने हो।

प्रधानमन्त्रीले बिहारका लागि नयाँ योजनाहरू र परियोजनाहरूको शुभारम्भ गरे, जसमा मुख्यमन्त्री निश्चय स्वयं सहायता भत्ता योजना र बिहार स्टुडेन्ट क्रेडिट कार्ड योजना समावेश छन्। यी योजनाअन्तर्गत प्रत्येक वर्ष पाँच लाख स्नातक युवालाई दुई वर्षसम्म महिनामा १,००० रुपियाँ भत्ता र निःशुल्क कौशल प्रशिक्षण दिइनेछ। क्रेडिट कार्ड योजनामा विद्यार्थीहरूलाई ४ लाख रुपियाँसम्मको ब्याज–मुक्त शिक्षा ऋण उपलब्ध गराइनेछ। साथै प्रधानमन्त्रीले बिहार युवा आयोग र जन नायक कर्पूरी ठाकुर कौशल विश्वविद्यालयको उद्घाटन पनि गरे। विश्वविद्यालयले उद्योग–केन्द्रित पाठ्यक्रम मार्फत विश्वस्तरको दक्ष कार्यबल तयार गर्नेछ।

प्रधानमन्त्रीले पीएम–उषा (प्रधानमन्त्री उच्चतर शिक्षा अभियान) अन्तर्गत बिहारका चार विश्वविद्यालय—पटना विश्वविद्यालय, भूपेन्द्र नारायण मण्डल विश्वविद्यालय (मधेपुरा), जयप्रकाश विश्वविद्यालय (छपरा) र नालन्दा मुक्त विश्वविद्यालय (पटना)—मा नयाँ शैक्षिक र अनुसन्धान सुविधाको आधारशिला पनि राखे। प्रधानमन्त्री मोदीले भारतरत्न जननायक कर्पूरी ठाकुरलाई विशेष स्मरण गर्दै भने, उनी समाजका कमजोर वर्गको उत्थानका लागि समर्पित थिए। कर्पूरी ठाकुरको नाममा बन्ने कर्पूरी ठाकुर कौशल विश्वविद्यालयले उनको शिक्षा र समाजसेवा सपना अगाडि बढाउनेछ।मोदीले ३४ राज्य र केन्द्रशासित प्रदेशमा ४०० नवोदय विद्यालय र २०० एकलव्य आवासीय विद्यालयमा १,२०० व्यावसायिक कौशल प्रयोगशालाहरूको पनि उद्घाटन गरे। यी प्रयोगशालाहरूमा आईटी, अटोमोटिभ, कृषि, इलेक्ट्रोनिक्स, लॉजिस्टिक्स र पर्यटन क्षेत्रमा प्रशिक्षण दिइनेछ।

साथै, उनले एनआईटी पटनाको बिहटा परिसरलाई राष्ट्रलाई समर्पित गरे, जसमा ५जी प्रयोगशाला, इसरोको सहयोगमा क्षेत्रीय अन्तरिक्ष शैक्षिक केन्द्र, नवाचार र इनक्यूबेशन हब जस्ता सुविधाहरू रहेका छन्। कार्यक्रममा प्रधानमन्त्रीले बिहार सरकारका ४,००० भन्दा बढी नव–नियुक्त उम्मेदवारलाई नियुक्ति पत्र वितरण गरे, साथै कक्षा ९ र १० का २५ लाख विद्यार्थीलाई ४५० करोड रुपियाँ छात्रवृत्तिको प्रत्यक्ष लाभ हस्तान्तरण गरियो।

प्रधानमन्त्री मोदीले भने, २०१४ अघि भारतको अर्थव्यवस्था नाजुक मानिन्थ्यो, तर आज भारत शीर्ष तीन अर्थव्यवस्थामा स्थान बनाउन अग्रसर छ। उनले युवाको प्रगति नै देशको प्रगति भएको बताए। यसैले सरकार शिक्षा, कौशल र रोजगारीलाई सँगै जोड्दै ‘विकसित भारत' तर्फ कदम बढाइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande