सीबीआईद्वारा एचपीजेड क्रिप्टो करेन्सी टोकन ठगी प्रकरणमा पाँच जना पक्राउ
सीबीआईद्वारा एचपीजेड क्रिप्टो करेन्सी टोकन ठगी प्रकरणमा पाँच जना पक्राउ


नयाँ दिल्ली, ४ अक्टोबर (हि.स.)। केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआई) ले देशभर साइबर अपराधविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन चक्र-V’ अन्तर्गत एचपीजेड क्रिप्टो करेन्सी टोकन ठगी मामिलामा सात स्थानमा छापा मार्दै पाँच जनालाई पक्राउ गरेको छ।

सीबीआईका अनुसार, अक्टोबर ३ मा दिल्ली-एनसीआर, हैदराबाद र बेङ्गलुरुस्थित सात ठाउँमा छापा मारेर आपत्तिजनक डिजिटल प्रमाण र वित्तीय कागजात बरामद गरिएको छ। यो प्रकरण २०२१ देखि २०२३ सम्म भारतमा सक्रिय रहेका विदेशी मास्टरमाइण्डहरूले भारतीय नागरिकहरूसँग मिलेर रचेको एक संगठित आपराधिक षड्यन्त्रसँग सम्बन्धित छ।

जाँचमा खुलासा भएअनुसार, यस अवधिमा ऋण, रोजगारी, लगानी र क्रिप्टो करेन्सी योजनाको नाममा सर्वसाधारणलाई ठगियो। ठगीका लागि भारतमै धेरै फर्जी कम्पनीहरू दर्ता गरिएका थिए, जसको प्रयोग ‘म्युल ब्याङ्क खाता’ सञ्चालन गर्न र ठगिएको रकम संकलन गर्न गरियो। उक्त रकम पछि क्रिप्टोमार्फत विदेश पठाइयो।

सीबीआईका अनुसार, यी फर्जी कम्पनीहरूलाई विभिन्न फिनटेक र भुक्तानी एग्रिगेटर प्लेटफर्ममा दर्ता गरी सार्वजनिक धन संकलन र स्थानान्तरणमा प्रयोग गरियो। यस्ता संस्थाहरूको उपयोग सीमापार आपराधिक आम्दानी लुकाउन र वैध देखाउन गरिएको थियो।

एजेन्सीले पाँच आरोपितलाई पक्राउ गरी सक्षम अदालतमा पेश गरिसकेको छ। त्यस्तै, अन्य संलग्न व्यक्ति, कम्पनी र अन्तरराष्ट्रिय सञ्जालको पहिचानका लागि अनुसन्धान अझै जारी रहेको सीबीआईले जनाएको छ। सीबीआईले साइबरमार्फत हुने वित्तीय अपराधसँग जुध्न खुफिया जानकारी, अन्तर-एजेन्सी समन्वय र डिजिटल फरेन्सिक प्रविधिको प्रयोग निरन्तर जारी रहने बताएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande