प्रधानमन्त्री मोदीले देशका युवालाई दिनेछन् ठूलो सौगात, ६२ हजार करोडका योजना सुरु गर्ने
modi


नयाँ दिल्ली, ४ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशभरका युवाहरूको लागि ६२,००० करोड रुपियाँभन्दा बढीका योजनाहरूको सुरुवात गर्न लागेका छन्। शिक्षा, सीप विकास (स्किल डेभलपमेन्ट) र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने ठुला उद्देश्यसहित यी योजनाहरू सुरु गर्न लागिएको हो। प्रधानमन्त्री बिहान ११ बजे नयाँ दिल्लीस्थित विज्ञान भवनबाट यी योजनाहरूको उद्घाटन गर्नेछन्।

प्रधानमन्त्री मोदीले आज ‘प्रधानमन्त्री स्किलिङ एन्ड एम्प्लोयबिलिटी ट्रान्सफर्मेसन थ्रु अपग्रेडेड आईटीआई (पीएम–सेतु)’ योजना प्रारम्भ गर्नेछन्। यस अन्तर्गत ६०,००० करोड रुपियाँको लागतमा १,००० सरकारी आईटीआईलाई आधुनिक बनाइनेछ। हब–एण्ड–स्पोक मोडेलमा आधारित यो योजना उद्योग साझेदारहरूको सहयोगमा सञ्चालन गरिनेछ र यसमा विश्व ब्याङ्क तथा एशियाली विकास ब्याङ्कको समेत सहयोग रहनेछ। यी संस्थानहरूमा आधुनिक पूर्वाधार, डिजिटल प्रणाली र नवाचार केन्द्र विकसित गरिनेछ। पहिलो चरणमा पटना र दरभंगाका आईटीआईलाई प्राथमिकता दिइनेछ।

यसका अतिरिक्त ३४ वटा राज्य र केन्द्रशासित प्रदेशहरूमा ४०० नवोदय विद्यालय र २०० एकलव्य मोडेल स्कूलमा १,२०० सीप प्रयोगशालाहरू (स्किल ल्याब्स) खोलिनेछ। यी प्रयोगशालाहरूमा विद्यार्थीहरूलाई सूचना प्रविधि, अटोमोबाइल, कृषि, इलेक्ट्रोनिक्स, लगिस्टिक्स, पर्यटनलगायत १२ प्रमुख क्षेत्रमा तालिम दिइनेछ। यसका लागि १,२०० विशेष शिक्षक पनि तयार गरिनेछन्।

प्रधानमन्त्री मोदीले एनआईटी पटनाको बिहटा क्याम्पस देशलाई समर्पण गर्नेछन्। यसमा ६,५०० विद्यार्थीको क्षमता रहेको छ। यहाँ ५जी प्रयोगशाला, इस्रोसँगको सहकार्यमा बनेको अन्तरिक्ष अनुसन्धान केन्द्र र नवप्रवर्तन केन्द्र पनि छ, जसले अहिलेसम्म नौवटा स्टार्टअपलाई सहयोग गरिसकेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande