मुख्यमन्त्रीले भने– दोषीलाई कुनै हालतमा छुट दिइने छैन
- तमिलनाडु सरकारको परीक्षणमा सिरपमा ‘किड्नी’ लाई क्षति पुर्याउने विषालु रसायन भेटियो
भोपाल, ०४ अक्टोबर (हि.स.)। मध्य प्रदेशको छिन्दवाडा जिल्लामा रोग निको पार्ने औषधि नै बच्चाहरूको मृत्युको कारण बनेको छ। परासिया ब्लकका नौ बच्चाको मृत्यु भएपछि राज्यभर ‘कोल्ड्रिफ कफ सिरप’ को बिक्रीमा प्रतिबन्ध लगाइएको छ। मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिँदै भने– दोषीलाई कुनै पनि हालतमा छोडिने छैन। मुख्यमन्त्री यादवले भने, छिन्दवाडामा कोल्ड्रिफ सिरपका कारण बच्चाहरूको मृत्यु हुनु अति दुःखद छ। यसको बिक्री सम्पूर्ण मध्य प्रदेशमा बन्द गरिएको छ। सिरप उत्पादन गर्ने कम्पनीका अन्य उत्पादनमा पनि प्रतिबन्ध लगाइँदैछ।
यो सिरपको उत्पादन तमिलनाडुको काञ्चीपुरमस्थित कारखानामा हुने भएकाले, राज्य सरकारले तमिलनाडु सरकारसँग जाँचको आग्रह गरेको थियो। शनिबार बिहान प्राप्त रिपोर्टमा यसमा विषालु रसायन भेटिएपछि कडा कारबाही गरिएको हो। राज्यस्तरमा पनि उच्चस्तरीय जाँच समिति गठन गरिएको छ।
उल्लेखनीय छ, मध्य प्रदेशको छिन्दवाडा जिल्लाको परासिया ब्लकमा ‘कोल्ड्रिफ कफ सिरप’ पिएपछि पछिल्ला २० दिनमा नौ बालबालिकाको मृगौला फेल भएर मृत्यु भइसकेको छ। तीमध्ये अधिकांशले नागपुरका निजी अस्पतालमा ज्यान गुमाएका हुन्। अहिले पनि केही बालबालिका जीवन–मृत्युको संघर्षमा अस्पतालमा उपचाररत छन्।छिन्दवाडा मेडिकल कलेजका सह–प्राध्यापक डा. पवन नन्दुरकरका अनुसार, हालसम्म मृत्यु हुने नौ बालबालिकामा दिव्यांश चन्द्रवंशी (७ वर्ष), अदनान खान (५ वर्ष), हेतांश सोनी (५ वर्ष), उसैद (४ वर्ष), श्रेया यादव (१८ महिना), विकास यदुवंशी (४ वर्ष), योगिता विश्वकर्मा (५ वर्ष), संध्या भोसोम (सवा वर्ष) र चञ्चलेश यदुवंशी रहेका छन्।गत चार दिनमै दुई बालबालिकाको मृत्यु भएको छ। सवा वर्षीया संध्या भोसोम १७ सेप्टेम्बरमा बिरामी भएकी थिइन्। उनलाई १८ सेप्टेम्बरमा परासियाको निजी अस्पताल ल्याइयो र त्यसपछि सरकारी अस्पतालमा उपचार गरियो। २६ सेप्टेम्बरमा फेरि उनलाई निजी अस्पताल भर्ना गरियो। पछि सीएचसी परासियाबाट छिन्दवाडा रिफर गरिएको संध्यालाई २८ सेप्टेम्बरमा छिन्दवाडाबाट नागपुर मेडिकल कलेज पठाइयो, जहाँ १ अक्टोबरमा उनको मृत्यु भयो। संध्याका अतिरिक्त गाएकोहानका चञ्चलेश यदुवंशीको पनि नागपुरमै उपचारको क्रममा मृत्यु भएको हो।
एसडीएम शुभम यादवका अनुसार, छ बालबालिकामा ‘कफ सिरप’ प्रयोगको इतिहास भेटिएको छ, जसमा ‘डाइएथिलीन ग्लाइकल’ नामक रसायन मृत्युको कारण भएको देखिन्छ। यसमा पाँचजनाले कोल्ड्रिफ र एकजनाले नेक्स्ट्रस–डीएस प्रयोग गरेका थिए। दुबै सिरपलाई तत्कालै प्रतिबन्ध गरिएको छ।
तमिलनाडु सरकारले गरेको परीक्षणमा, काञ्चीपुरमस्थित श्रीसन फार्मास्युटिकल्सको युनिटबाट बरामद ‘कोल्ड्रिफ सिरप’ (ब्याच नम्बर SR–13) मा ४८.६% डाइएथिलीन ग्लाइकल पाइएको छ। यो रसायन किड्नीलाई गम्भीर क्षति पुर्याउने खालको विषाक्त पदार्थ हो। यसै आधारमा तमिलनाडु सरकारले सिरपको उत्पादन र बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको हो।
जाँच टोलीले कारखानामा धेरै प्रोटोकल उल्लंघन पनि फेला पारेको छ। सरकारी रिपोर्ट अनुसार, दूषित ‘प्रोपिलिन ग्लाइकल’ प्रयोग गरिएको थियो, जसमा डाइएथिलीन ग्लाइकल र एथिलीन ग्लाइकल मिसिएको भेटिएको हो। यी दुबै रसायन घातक मानिन्छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी