जीटीए प्रमुख अनित थापाले गरे मिरिकमा प्रकोप क्षेत्रको भ्रमणमा
अनित थापा


हामी समाधान खोजौं अनि काम गरौं, यो समय राजनीति गर्ने समय होइन: अनित थापा

मिरिक 06 अक्टोबर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा आज प्राकृतिक प्रकोपको‌ प्रभावित मिरिक क्षेत्रको निरीक्षण भ्रमणमा पुगे। उनले मिरिकको सौरेनी ढाड गाउँमा पुगेर त्यहाँको स्थितिको जायजा लिए। यो त्यही गाउँ हो जहाँ पैह्रोमा परेर 4 व्यक्तिहरूले आफ्नो प्राण गुमाएका थिए।

स्थलगत निरीक्षण भ्रमणपछि‌ अनित थापाले राहात शिविरमा रहेका पीडितहरुसँग भेटघाट गरी‌ बातचीत गरेका थिए। यसावधि आफूसँग आफ्नो शरीरमा लगाएको लुगा मात्र रहेको, घरमा बहिनी ज्वाइँ टीका लगाउनु आएको समय पैह्रोमा मृत्यु भएको घटनाको विवरण पीडितहरूले अनित थापालाई सुनाए। अनित थापाले उपस्थित सभासद अरुण सिंग्चीलाई पीडितहरुलाई लगाउने लुगादेखि बस्ने खानुको प्रबन्धसम्म राम्ररी गरिदिन निर्देश दिए।

थापाले पीडितहरुलाई शान्तावना दिँदै भने, मलाई थाहा छ तपाईहरू कस्तो दुःखमा समय बिताइरहनु भएको छ। हामीलाई पनि काम गर्नु समय दिनुहोस्। जसको घर पैह्रोले लगेको छ, उनीहरूको निम्ति राम्रो ठाउँमा जमीन हेरेर हामी घर बनाइदिनेछौँ।

उनले अझ भने, हिजो म मुख्यमन्त्रीले बोलाउनु भएको बैठकमा थिए। यहाँको पीडितहरुलाई कसरी बेसी राहत दिनु पर्ने विषयमा हामीले कुरा गर्यौ। आज मात्र मुख्यमन्त्री ममता ब्यानर्जीले मृतक परिवारलाई 5 लाख रुपियाँ क्षतिपूर्ति राशि अनि परिवारको एक सदस्यलाई होम गार्डमा नोकरी दिने घाेषणा गर्नुभयो। हामीले उहाँलाई धन्यवाद दिनु नै पर्छ।

उपस्थित स्वयं सेवकहरु, नेतृत्वहरुलाई थापाले भने, हामी अरूले के भन्छ त्यो सुन्ने काम नगरौं। यो समय समस्या देखाउने अनि आरोप लगाउने समय होइन। हामी समाधान खोजौं अनि काम गरौं। यो समय राजनीति पनि गर्ने समय होइन। मिरिक क्षेत्रमा मात्र 11 जनाको पैह्रोको प्रकोपमा परेर मृत्यु भएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande