दार्जिलिङ, 6 अक्टूबर (हि.स.)। गत 4 अक्टोबरको राति आएको अविरल वर्षा र त्यसपछिको बाढीले टिस्टा बजार क्षेत्र अत्यधिक प्रभावित भएको छ। आज भारतीय जनता पार्टीको एक प्रतिनिधि टोलीले सो क्षेत्रको स्थलगत निरीक्षण गरी पीडित परिवारहरूको अवस्था बुझ्ने कार्य गरेको छ।
भ्रमण टोलीमा भाजपाका जिल्ला अध्यक्ष सुभ प्रधान, उपाध्यक्ष कुमार चामलिङ, जिल्ला महासचिव राजु थुलुङ राई तथा मण्डल अध्यक्ष कालिन्दिनी छेत्री लगायतका नेताहरूको सहभागिता रहेको थियो।
निरीक्षणका क्रममा टोलीले बाढीले पुर्याएको व्यापक क्षति प्रत्यक्ष अवलोकन गरेको छ।
प्राप्त विवरण अनुसार, जम्मा चारवटा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, जसमा स्थानीय युवाहरूको गाडी भाडा (ट्याक्सी सेवा) मार्फत रोजगारी जोडिएको थियो। यसका साथै, बाढी र पैह्रोका कारण कैयौं घरहरूमा माटो पसेर ठूलो क्षति पुगेको स्थानीय बासिन्दाहरूले जानकारी दिए।
भाजपाको प्रतिनिधि टोलीले प्रभावित परिवारहरूसँग भेटघाट गरी उनीहरूको समस्या सुनेको र सरकारसँग तत्काल राहत र पुनर्स्थापनाको माग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। टोलीका सदस्यहरूले जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै बाढी पीडित क्षेत्रहरूमा सहयोग र उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक