भागोप्रमो अनि विभिन्न सघ संस्थाद्वारा पैह्रोग्रस्त घरहरुलाई सहयोग
भागोप्रमो अनि विभिन्न सघ संस्थाद्वारा पैह्रोग्रस्त घरहरुलाई सहियोग


परेको बेला सबैलाई सहयोग गरिदिन सभासद श्याम शेर्पाको अपील

खरसाङ, 06 अक्टोबर (हि.स.)। गत शनिवार रातिको विनाशकारी वर्षाले खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर दुई अन्तर्गत सुनौलो परिवार समिति भवनको गोलाई तल्लो पाखाबाट अब्राहम बस्तीमा पैह्रो जाँदा त्यहाँका स्थानीय निवासी विरुना राई, अन्जन तामाङकाे घर पैह्रोको चपेटमा परेको छ। स्थानीय प्रनेश भित्रीकोटीको घरलाई पनि आंशिक रूपमा क्षति पुगेको छ।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटी लगायत वार्ड नम्बर दुई टेकवीर युवा शक्ति प्रशाखा अनि प्रगति गाउँ प्रगति समाजका सदस्यहरूले पैह्रोको हिलो माटो सफा गरी सहयोग पुऱ्याएका छन्। विगत वर्ष पनि यसरी नै पैह्रो आएर क्षति पुग्दा उनीहरूले सम्बन्धित निकायसँग जोगाजोग गरेर सहयोग गरिदिन निवेदन गरेका थिए, तर कुनै प्रकारकाे पहल नभएको उनीहरूले गुनासो गरेका छन्।

भल पैह्रोले गर्दा ठूलो घटना हुन सक्ने सम्भावनालाई गम्भीरतासँग लिएर उचित कार्य गरिदिन विपेन्द्र राई अनि उनकी पत्नी बिरुना राईले पुनः निवेदन गरेका छन्। अर्कातिर, आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटीका पदाधिकारीहरु र वार्ड नम्बर दुई युवा शक्ति प्रशाखाका पदाधिकारीहरु लगायत टेकवीर बस्ती, प्रगति गाउँ, प्रगति संघका सदस्यहरूले बिहानदेखि नै पैह्रोग्रस्त ठॉंउमा साफ सफाई गरे।

यसरी नै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघका खरसाङ महकुमा समितिका पदाधिकारीहरु, खरसाङ महाविद्यालयका एकाई, खरसाङ पोलिटेकनिक एकाई पनि सहयोगको लागि अघि आएका थिए। यस अवधि 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पा, भागोप्रमो महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ लगायत अन्यहरूले क्षतिग्रस्त घरहरूको निरीक्षण गरेर पीडित परिवारलाई भेटेर पूर्ण सहयोगको आश्वासन दिए।

पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले आज खरसाङको टेकवीर बस्तीको पैह्रो निरीक्षण गरेको र यहाँ पैह्रोले केही घरहरुलाई क्षतिग्रस्त बनाएको बताए। उनले प्रभावित चार परिवारलाई गाउँकै समाज घरमा दुई—दुई परिवार गरेर स्थानान्तरित गरिएको बताए। उनले प्राकृतिक प्रकोपको‌ समय सबैलाई अघि आएर सहयोग गरिदिन अपील पनि गरेका छन्।‌

यसैगरी, युवा शक्ति खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरूङले पैह्रो पीडितहरुलाई सुरक्षित स्थानमा सारिएको र सबैले मिलेर सहयोग पुऱ्याएको जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande