पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालय देन्तामले शतवार्षिकी समारोह आयोजना गर्ने
Pm Shri school dentam


गान्तोक, 6 अक्टूबर (हि.स.)।

पश्चिम सिक्किम मानेबुङ देन्ताम निर्वाचन क्षेत्रको पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालय देन्तामले आगामी 10 देखि 18 अक्टोबरमा विद्यालयको शतवार्षिकी समारोह आयोजना गर्ने भएको छ। यस अवसरमा विभिन्न शैक्षिक साथै मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुने आयोजक समितिले जानकारी दिएको छ।

आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा ग्राम विकास विभागका ओएसडी कृष्ण लेप्चा, शतवार्षिकी समारोह समितिका अध्यक्ष दिनेश गुरुङ, विद्यालयका भाइस प्रिन्सिपल साथै पञ्चायत सभापतिले नौ दिनको शतवार्षिकी समारोहमा विद्यालयका पूर्व विद्यार्थी साथै विद्यालयसँग सम्बन्धित सबैलाई सहभागी बनिदिन आग्रह गरेका छन्। समारोहको उद्घाटन 10 अक्टोबरमा शिक्षा विभागका मन्त्री राजु बस्नेतको उपस्थितिमा हुने साथै समापन समारोहमा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथिका रुपमा उपस्थित रहने आयोजक समितिले जानकारी दिएको छ।

समारोहको पहिलो चरण गत 18 देखि 26 सेप्टेम्बर आयोजित गरिएको जसमा विद्यार्थीका लागि विभिन्न प्रतियोगिता आयोजित गरिएको समितिले जानकारी दिएको छ। समारोहको दोस्रो चरणमा अन्तर विद्यालय स्तरको फुटबल फाइनल अनि खुला फुटबल प्रतियोगिता मुख्य आकर्षण रहनेछन्।

यसै अवधिमा अन्तर विद्यालय साइन्स प्रतियोगिता पनि आयोजना गरिने साथै अघिल्लो कार्यक्रममा राखिएका प्रतियोगिताको पुरस्कार वितरण गरिनेछ। 18 अक्टोबरमा मुख्यमन्त्री पीएस गोलेको उपस्थितिमा विद्यालयमा निर्माण गरिएको पुस्तकालय र ग्यालेरीको उद्घाटन गरिने शतवार्षिकी समारोह आयोजना समितिले जानकारी दिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande