गान्तोक, 06 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमवार राष्ट्रिय राजधानीमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग भेट गरेका छन्। यस भेट अवधि मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई जीएसटी 2.0 को लागि बधाई दिए भने लम्बित मागहरू सम्बन्धित ज्ञापन पनि बुझाएका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत साझा गरेका छन्।
भेटको क्रममा मुख्यमन्त्री तामाङले प्रधानमन्त्री मोदीलाई सिक्किमका जनताको तर्फबाट उनको दूरदर्शी नेतृत्व, निरन्तर सहयोग र प्रोत्साहनका लागि हार्दिक धन्यवाद व्यक्त गरे। उनले प्रधानमन्त्रीको दृढ समर्थनले हामीलाई उज्ज्वल र आत्मनिर्भर सिक्किम निर्माण गर्न निरन्तर प्रेरित गरिरहेको बताए।
मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई ऐतिहासिक जीएसटी 2.0 को शुभारम्भका लागि बधाई दिए। उनले यो सुधार व्यापार गर्न सहजता ल्याउने, साना तथा मध्यम उद्यमहरूलाई सशक्त बनाउने, सहकारी संघीयतालाई मजबुत बनाउने र नागरिकहरूमा करको बोझ कम गर्ने ऐतिहासिक कदम हो भनी बताए।
मुख्यमन्त्रीले मई 2025 मा सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहमा खराब मौसमका कारण प्रधानमन्त्रीको सिक्किम भ्रमण रद्द भए तापनि प्रधानमन्त्रीको प्रोत्साहनपूर्ण सन्देशले प्रत्येक सिक्किमी नागरिकको हृदय गर्वले भरिएको थियो भनी बताए। यसै क्रममा उनले प्रधानमन्त्रीलाई पुनः नोभेम्बर 2025 को अन्त्यतिर सिक्किम भ्रमणका लागि निमन्त्रणा दिएको पनि जानकारी गराएका छन्।
मुख्यमन्त्रीले प्रधानमन्त्रीको विचारार्थ ऐतिहासिक, सामाजिक, राजनीतिक र सांस्कृतिक महत्वका दीर्घकालीन विषयहरू पनि प्रस्तुत गरे।
प्रधानमन्त्री मोदीले सिक्किमको एकता, सांस्कृतिक समृद्धि र निरन्तर प्रगतिप्रति प्रसंसा व्यक्त गर्दै यी आकांक्षाहरूका लागि सकारात्मक समर्थनको आश्वासन दिएको मुख्यमन्त्रीले उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीको दूरदर्शी नेतृत्व र अमूल्य मार्गदर्शनमा सिक्किम बलियो, उद्देश्यपूर्ण र गरिमामय ढंगले सुवर्ण, समृद्ध र सुरक्षित भविष्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल