कोलकाता, ७ अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमबार रात प्रधानमन्त्री नरेन्द्र मोदीको त्यस अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएकी छिन्, जसमा उनले जलपाइगढ़ी जिल्लाको नागराकाटामा भाजपा सांसद खगेन मुर्मू र विधायक शंकर घोषमाथि भएको आक्रमणका लागि राज्य सरकार र तृणमूल कांग्रेसलाई जिम्मेवार ठहराएका थिए।
ममताले सोमबार मध्यरातपछि सामाजिक सञ्जाल ‘एक्स’ मा जारी वक्तव्यमा लेखेकी छिन्, “प्रधानमन्त्रीले कुनै पनि तथ्य या जाँचको प्रतिक्षा नगरी उत्तर बंगालमा आएको प्राकृतिक विपत्तिलाई राजनीतिक रंग दिन खोज्नु अत्यन्तै दुर्भाग्यपूर्ण र चिन्ताजनक कुरा हो।” उनले थपिन्, “जब उत्तर बंगालका जनता बाढी र पैह्रोको पीडामा छन्, त्यस्तो संवेदनशील घडीमा राजनीति गर्नु असंवेदनशीलताको पराकाष्ठा हो।”
मुख्यमन्त्रीले आरोप लगाउँदै भनिन्, भाजपा नेताहरूले स्थानीय प्रशासनलाई जानकारी नदिई केन्द्रिय बलसहित ठूलो काफिला लिएर दुर्घटनास्थलको निरीक्षण गरे, जसले राहत तथा उद्धार कार्यमा अवरोध पुर्यायो।
प्रधानमन्त्रीले तृणमूल कांग्रेस र राज्य सरकारलाई सीधा दोषी ठहराएपछि ममताले भनिन्, “प्रधानमन्त्रीले कुनै प्रमाण, कानुनी जाँच वा प्रशासनिक प्रतिवेदनको प्रतीक्षा नगरी आरोप लगाएका छन्। लोकतन्त्रमा कानूनले आफ्नो बाटो लिनु पर्छ, दोष निर्धारण गर्ने अधिकार न्यायिक प्रक्रियालाई हुन्छ, राजनीतिक टिप्पणीलाई होइन।”
हिन्दुस्थान समाचार / बिशाल