निर्वाचनअघि बंगालमा मतदाता सूची पुनरावलोकनको तयारी, आज हुनेछ समीक्षा बैठक
निर्वाचनअघि बंगालमा मतदाता सूची पुनरावलोकनको तयारी, आज हुनेछ समीक्षा बैठक


कोलकाता, ०८ अक्टोबर (हि.स.)। भारत निर्वाचन आयोग (ईसीआई) को उच्चस्तरीय टोली आज कोलकातास्थित राज्य मुख्य निर्वाचन अधिकृत (सीईओ) कार्यालयमा बैठक गर्नेछ, जसमा पश्चिम बंगालका सबै जिल्लामा प्रदेशसभा क्षेत्रअनुसार भइरहेको म्यापिङ (क्षेत्रीय नक्साङ्कन) कार्यको प्रगतिको समीक्षा गरिनेछ। यो बैठक राज्यमा सञ्चालन हुन लागेको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियाको तयारी अन्तर्गत आयोजना गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, आयोगले प्रदेशसभा क्षेत्रवार सटीक म्यापिङलाई अत्यन्तै महत्वपूर्ण मानेको छ, ताकि भौतिक वास्तविकताका आधारमा एसआईआर प्रक्रिया प्रभावकारी रूपमा सम्पन्न गर्न सकियोस्। एक अधिकारीले भने, “आयोगले यस कुरामा विशेष जोड दिएको छ कि प्रत्येक जिल्लामा क्षेत्रवार म्यापिङ सही रूपमा र समयमा पूरा होस्।”

बैठकमा अर्को महत्वपूर्ण विषय, मतदान केन्द्र (बुथ) स्तरका अधिकृतहरूको नियुक्तिमा देखिएका कथित अनियमिततामा पनि छलफलमा हुनेछ। स्रोतका अनुसार, केही जिल्लाका करिब २,००० बुथहरूमा यससम्बन्धी उजुरीहरू प्राप्त भएका छन्। जहाँ म्यापिङको प्रगति सुस्त पाइएको छ, त्यस्ता जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीएम) र जिल्ला निर्वाचन अधिकारीहरूसँग ईसीआई टोलीले प्रत्यक्ष जवाफ माग्नेछ।

यो समीक्षा बैठक निर्वाचन आयोगका उप निर्वाचन आयुक्त ज्ञानेश भारतीको अध्यक्षतामा हुनेछ। बैठकमा आयोगका सूचना प्रविधि महानिर्देशक, अन्य वरिष्ठ अधिकारीहरू, राज्यका मुख्य निर्वाचन अधिकारी मनोजकुमार अग्रवाल तथा सबै वरिष्ठ जिल्ला स्तरीय निर्वाचन अधिकारी सहभागी हुनेछन्।

यद्यपि, उत्तर बंगालका जिल्लाका प्रमुख जिल्ला अधिकारी र तिनका अधीनस्थ अधिकारीहरूलाई यस बैठकबाट मुक्त राखिएको छ, किनकि उनीहरू हालैको भीषण वर्षा र पैह्रोपछि राहत तथा पुनर्वास कार्यमा व्यस्त छन्। आयोगले निर्णय गरेको छ कि यी जिल्लाका अधिकारीहरूसँग अवस्था सामान्य भएपछि छुट्टै भर्चुअल बैठक आयोजना गरिनेछ।

ईसीआईको केन्द्रिय टोली मंगलबार राति कोलकाता आइपुगेको छ। ९ अक्टोबरमा टोलीका वरिष्ठ अधिकारीहरूले केही जिल्लाको भ्रमण गरी त्यहाँका जिल्ला स्तरीय निर्वाचन अधिकारीहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ।

--------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande