नयाँ दिल्ली, ८ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गालमा लगातार भइरहेका हिंसात्मक घटनाहरूको कडा आलोचना गर्दै तृणमूल कांग्रेस (टीएमसी) सरकारमाथि आक्रोश प्रकट गरेको छ। भाजपा प्रवक्ता शहजाद पूनावालाले बुधबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, “आज टीएमसीको मतलब तृणमूल कांग्रेस होइन, तर तालिबानी मानसिकता भएको सरकार हो।”
उनले थपे, “गत २४ घण्टामा टीएमसीको नयाँ व्याख्या बनेको छ, ‘टी’ मतलब आदिवासीमाथि अत्याचार, ‘एम’ मतलब महिलामाथि अत्याचार, र ‘सी’ मतलब नागरिकहरू पूर्ण रूपमा लाचार।”
पूनावालाले आरोप लगाउँदै भने, “एकातिर जब पश्चिम बङ्गाल बाढी र पैह्रो जस्ता ठूलो विपत्तिमा फसेको छ, त्यतिखेर मुख्यमन्त्री ममता ब्यानर्जी आत्ममुग्ध भएर उत्सव मनाइरहेकी छन् र टीएमसी कार्यकर्ताहरू जनतामाथि आक्रमण गरिरहेका छन्।”
उनीका अनुसार, पश्चिम बङ्गाल विशेषगरी उत्तर बङ्गालमा बाढी र पैह्रोका कारण अहिलेसम्म ३५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ र ५० हजारभन्दा बढी मानिस बेघर भएका छन्। पूनावालाले भने, “यो विपत्तिका लागि टीएमसी सरकारको भ्रष्टाचार पूर्ण रूपमा जिम्मेवार छ।”
भाजपा प्रवक्ताले थपे, “गत २४ घण्टामा भाजपा जनप्रतिनिधिहरूमाथि तीनवटा जीवनघातक आक्रमण भएका छन्, ती सबै आदिवासी समुदायका प्रतिनिधि हुन्। सांसद खगेन मुर्मूमाथि भएको आक्रमणमा उनी गम्भीर घाइते भएका छन्। उनको टाउको फुटेको छ, आँखामा चोट लागेको छ र अहिले उनी आईसीयूमा उपचाररत छन्।”
पूनावालाले आरोप लगाए कि ममता सरकारमा पश्चिम बङ्गालमा राजनीतिक हिंसालाई संस्थागत, सामान्य, र वैध बनाइएको छ। उनले भने, “कल्पना गर्नुहोस्, जब सांसद र विधायक नै सुरक्षित छैनन् भने सामान्य जनताको सुरक्षाको अवस्था कस्तो होला!”
उनले स्मरण गराए, “६ जनवरी २०२४ मा पनि टीएमसीका कार्यकर्ताहरूको भीडले ईडी अधिकारी र सीआरपीएफ जवानमाथि आक्रमण गरेको थियो।”
---------------
हिन्दुस्थान समाचार / भवानी थामी