झारखण्डको गिरिडीहमा हार्डकोर नक्सली दम्पतीले आत्मसमर्पण गरे
झारखण्डको गिरिडीहमा हार्डकोर नक्सली दम्पतीले आत्मसमर्पण गरे


गिरिडीह, ८ अक्टोबर (हि.स.)। झारखण्डको गिरिडीहमा बुधबार सरकारले ल्याएको आत्मसमर्पण नीतिबाट प्रभावित भई पारसनाथ जोनमा सक्रिय दुई नक्सली शिवलाल हेम्ब्रम उर्फ शिवा र उनकी श्रीमती सरिता हांसदा उर्फ उर्मिलाले पुलिससमक्ष आत्मसमर्पण गरेका छन्। पपरवाटाँडस्थित नयाँ पुलिस लाइनमा आयोजित कार्यक्रममा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) र स्थानीय पुलिसका अधिकारीहरूले दुवैलाई मुख्यधारामा फर्किएको अवसरमा स्वागत गरे।

झारखण्डमा नक्सलमुक्त अभियान अन्तर्गत भाकपा (माओवादी) विरुद्ध लगातार कारबाही भइरहेको छ। यही क्रममा सरकारले सुरु गरेको नक्सलमुक्त अभियानको नयाँ दिशा–नयाँ पहलबाट प्रभावित भएर दम्पतीले गिरिडीह पुलिस मुख्यालयमा आयोजित कार्यक्रममा आत्मसमर्पण गरेका हुन्। उक्त कार्यक्रममा सीआरपीएफका उपमहानिरीक्षक (डीआईजी) अमित सिंह, गिरिडीहका उपायुक्त राम निवास यादव, र पुलिस अधीक्षक (एसपी) डा. विमल कुमार उपस्थित थिए।

पुलिसका अनुसार, शिवलाल हेम्ब्रम उर्फ शिवा एरिया कमिटीका सदस्य हुन् भने उनकी श्रीमती सरिता हांसदा उर्फ उर्मिला गिरिडीहको पीरटाँड क्षेत्रमा कुख्यात नक्सली विवेक दाको समूहकी सक्रिय सदस्य हुन्। दुवै विरुद्ध डुमरी, मधुबन, खुखरा र पीरटाँड थानामा गरी १५ मुद्दा दर्ता छन्, जसमा ११ मुद्दा शिवा विरुद्ध र ४ मुद्दा सरिता विरुद्ध छन्। दुवै जना गिरिडीह जिल्लाको खुखरा थाना क्षेत्रका बासिन्दा हुन्।

आत्मसमर्पणपछि ‘दिशा – एक नयाँ पहल’ नीति अन्तर्गत दुवैलाई झारखण्ड सरकारले ५०–५० हजार रूपियाँ पुनर्वास सहायता उपलब्ध गराउनेछ। साथै अन्य योजनाअन्तर्गत थप सुविधाहरू पनि दिइनेछ।

पुलिस मुख्यालयमा आयोजित कार्यक्रममा सीआरपीएफका डीआईजी अमित सिंहले भने, “नक्सलीहरूले आगामी २० अक्टोबरमा घोषणा गरेको झारखण्ड बन्दको कुनै अर्थ छैन। अझै पनि समय छ, बाँकी रहेका नक्सलीहरू मुख्यधारामा फर्केर शान्तिपूर्ण जीवन व्यतित गर्न सकून्।”

उल्लेखनीय छ, झारखण्डको गिरिडीहस्थित पारसनाथ क्षेत्र एक समय नक्सली आतंकको गढ मानिन्थ्यो। त्यहाँका जंगल र पहाडहरू नक्सलीहरूको सबभन्दा सुरक्षित आश्रयस्थल थिए, जहाँ उनीहरूको समानान्तर शासन चल्थ्यो। तर झारखण्ड पुलिस, सीआरपीएफ र इन्टेलिजेन्स ब्युरो (आईबी) का संयुक्त कारबाहीपछि यो “लाल गलियारे” प्रायः समाप्त भएको छ। विगत एक वर्षमा १५ जना वाञ्छित नक्सलीमध्ये १२ जना मारिएका छन्। गत १५ सेप्टेम्बरमा एक करोड रूपियाँ इनाममा रहेका नक्सली सहदेव सोरेन मारिएपछि यस क्षेत्रमा नक्सली प्रभाव लगभग अन्त्य भएको मानिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande