भारतीय वायुसेनाको ९३औं स्थापना दिवसमा राष्ट्रपति मुर्मु, अमित शाह र खरगेसहित प्रमुख व्यक्तिहरूले शुभकामना दिए
भारतीय वायुसेनाको ९३औं स्थापना दिवसमा राष्ट्रपति मुर्मु, अमित शाह र खरगेसहित प्रमुख व्यक्तिहरूले शुभकामना दिए


नयाँ दिल्ली, ८ अक्टोबर (हि.स.)। भारतीय वायुसेनाको ९३औं स्थापना दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु, गृहमन्त्री अमित शाह, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेसहित देशका प्रमुख व्यक्तिहरूले वायुसेनाका वीर जवानहरूको साहस, समर्पण र देशभक्तिको प्रशंसा गर्दै शुभकामना दिएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले सामाजिक सञ्जाल ‘एक्स’ मा शुभकामना सन्देश साझा गर्दै लेखेकी छन्, भारतीय वायुसेनाले सधैं साहस, समर्पण र उत्कृष्टताको परिचय दिएको छ। उनले वायुसेनाका जवानहरूलाई शुभकामना दिँदै भनिन्, “हाम्रो वायुसेनाका वीर योद्धाहरू कठिन परिस्थितिमा पनि देशको सेवा गर्न तत्पर रहन्छन् र राष्ट्रको गौरव बढाउँछन्।”

गृहमन्त्री अमित शाहले वायुसेना दिवसको अवसरमा देशका ‘आकाश रक्षक’हरूलाई शुभकामना दिँदै भने, “भारतीय वायुसेनाले केवल राष्ट्रिय सुरक्षाको जिम्मेवारी मात्र सम्हालेको छैन, प्राकृतिक विपत्तिका बेला पनि देशवासीको सेवा गर्न सधैं अग्रपंक्तिमा रहँदै आएको छ।” उनले बलिदानी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले भने, “भारतीय वायुसेना साहस, पेशेवर सीप र देशभक्तिको प्रतिक हो।” उनले राष्ट्रसेवामा वायुसेनाको योगदानको प्रशंसा गरे।

लोकसभामा विपक्षी नेता राहुल गान्धीले वायुसेनाका वीर जवानहरूलाई नमन गर्दै भने, “उनहरूको अदम्य साहस, बलिदान र निष्ठा सम्पूर्ण देशका लागि प्रेरणाको स्रोत हो।”

वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले संस्कृतमा ‘नभः स्पृशं दीप्तम्’ लेख्दै वायुसेनाका जवानहरूलाई हार्दिक शुभकामना दिए र भने, “देश उनीहरूको सेवा र त्यागप्रति सदैव ऋणी रहनेछ।”

मध्यप्रदेशका मुख्यमन्त्री डा. मोहन यादव, सांसद डा. महेश शर्मा, दिल्ली सरकारका मन्त्री प्रवेश वर्मा तथा पूर्व केन्द्रीय मन्त्री अनुराग ठाकुरले पनि वायुसेना दिवसको अवसरमा देशका ‘गगन प्रहरी’हरूलाई बधाई दिएका छन्।

महान क्रिकेटर सचिन तेन्दुलकरले भने, “भारतीय वायुसेनाले देशका १.४ अर्बभन्दा बढी नागरिकका सपना साहस र समर्पणका साथ सुरक्षित राख्दै आएको छ।” उनले वायुसेनासँग सम्बन्धित हुन पाउँदा गर्व महसुस गर्दै सबैलाई वायुसेना दिवसको शुभकामना दिएका छन्।

हरेक वर्ष अक्टोबर ८ का दिन भारतीय वायुसेना दिवस मनाइन्छ। सन् १९३२ मा भारतीय वायुसेनाको स्थापना भएको सम्झनामा यो दिवस मनाइने गरिएको हो। भारतीय वायुसेनाको स्थापना ब्रिटिश शासनकालमा भएको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande