धूपगढ़ीमा राष्ट्रिय स्वयंसेवक सङ्घका स्वयंसेवक बने सहारा, ३५० बाढी पीडितलाई भोजन वितरण
rss-dhupguri


धूपगढ़ी (उत्तर बंगाल), ०८ अक्टोबर (हि.स.)। उत्तर बंगालका विभिन्न भागमा लगातार परेको वर्षा र नदीहरूको बढ्दो जलस्तरका कारण आएको बाढीले सामान्य जनजीवन अस्तव्यस्त बनेको छ। धेरै गाउँका बासिन्दा राहत शिविरमा शरण लिन बाध्य भएका छन्। यस्ता कठिन समयमा राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का धूपगढ़ी नगरका स्वयंसेवक सक्रिय रूपमा राहत कार्यमा जुटेका छन्।

आइतबार राति, उत्तरबंग सेवा भारतीको पहलमा सङ्घका स्वयंसेवकहरूले धूपगढ़ी क्षेत्रका बाढी प्रभावित बस्तीहरूमा गएर झण्डै ३५० भन्दा बढी असहाय र पीडित व्यक्तिहरूका लागि रातको भोजनको व्यवस्था गरे। स्वयंसेवकहरूले आफैं गएर आवश्यक परिवारहरूलाई भोजनका प्याकेट र पिउने पानी वितरण गरे।

सेवा भारतीका स्थानीय कार्यकर्ताहरूका अनुसार, बाढीका कारण धेरै क्षेत्रमा मानिसहरू घर छोड्न बाध्य भएका छन्। यस सङ्कटको घडीमा सङ्घका स्वयंसेवकहरू दिनरात सेवा कार्यमा तल्लीन छन्। उनीहरू केवल भोजन वितरणमै सीमित छैनन्, राहत शिविरहरूमा सरसफाइ, चिकित्सीय सहयोग र बालबालिकाका आवश्यक सामग्रीको व्यवस्थामा पनि जुटिरहेका छन्।

सङ्घका एक वरिष्ठ कार्यकर्ताले भने, “सेवा नै सङ्गठनको मूल मन्त्र हो। जब समाज सङ्कटमा पर्छ, त्यतिबेला प्रत्येक स्वयंसेवक मानवताको सेवामा आफ्नो कर्तव्य निभाउन अगाडि आउँछ।” उनले थपे, आगामी दिनमा सेवा भारतीमार्फत औषधि वितरण, वस्त्र वितरण र सरसफाइ अभियान पनि सञ्चालन गरिनेछ, ताकि कुनै पनि पीडित परिवार असुविधामा नपरोस्।

स्थानीय प्रशासनले पनि स्वयंसेवकहरूको तत्परता र अनुशासनको प्रशंसा गरेको छ। बाढीग्रस्त क्षेत्रहरूमा स्वयंसेवकहरूको यस कार्यले जनमानसमा आशा र आत्मविश्वास जगाएको छ।

सेवा भारतीका संयोजकले भने, “हामी सबै मिलेर सुनिश्चित गर्नेछौं कि कुनै पनि व्यक्ति भोकै नरहोस्। यो सङ्कटको समयमा समाजका सबै वर्गहरूले एक भएर मानवताको सेवा गर्नुपर्छ।” धूपगढ़ी, अलीपुरद्वार र जलपाइगढ़ी जिल्लाका धेरै क्षेत्रमा सङ्घ र सेवा भारतीको संयुक्त प्रयासमा राहत कार्य लगातार जारी छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande