
कुचबिहार, 15 नोभेम्बर (हि.स)। जिल्लाको तूफानगञ्ज-2 नम्बर ब्लकको बाड़कोदाली-2 ग्राम पञ्चायतमा रायडाक नदीमाथि निर्मित फलामको पुल शनिवार बिहान भत्कियो। यस घटनामा कुनै प्रकारको मानवीय क्षति भने भएन। तथापि डम्पर सहित केही वाहनहरू भत्किएको पुलमा फसेका छन्। यसबीच पुल भत्किएको खबर फैलिनसाथ स्थानीय मानिसहरूको व्यापक भीड़ घटनास्थलमा एकत्र भयो। स्थानीयहरूले बताए, फलामको पुल विगत लामो समयदेखिकै कमजोर भएको थियो। उनीहरूले बारम्बार प्रशासनसित पुल मरम्मत गर्ने माग गर्दै आइरहेका छन्। पुल कमजोर भए पनि यहाँबाट सबै प्रकारका भारी वाहनहरूको आवागमन हुन्थ्यो जसबाट पुल भत्किने सम्भावना बढ़्दो थियो। आज बिहान असमको खेरबारीदेखि मनसाई बजार तर्फ एउटा ढुङ्गा लादिएको डम्पर गइरहेको थियो। डम्पर पुलमा चढ़्नसाथ पुल भत्कियो। यस घटनामा डम्पर चालक भाग्यले बचे। तूफानगञ्ज-2 का बीडीओ अजय कुमार दण्डपातले भने, पुल भत्किएको खबर सुनिएको छ। कुनै प्रकारको जनहानि भएको खबर छैन। घटनालाई लिएर सम्बन्धित विभागलाई अवगत गराइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा