
उत्तर सिक्किमका 99.99% जनजाति समुदाय आज पनि सरकारी प्राथमिकताबाट वञ्चित: गणेश राई
गान्तोक, 15 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको जनजाति परिषद्ले उत्तर सिक्किमको माङ्सिलामा आज भगवान धर्ती आभा बिरसा मुण्डाको 150औँ जन्मजयन्ती तथा “जनजाति गौरव दिवस” भव्य रूपमा पालन गऱ्यो।
कार्यक्रममा बिरसा मुण्डाले भारतीय जनजाति समुदायलाई दिएको जागरण, ब्रिटिश साम्राज्यवादविरुद्धको ऐतिहासिक आन्दोलन, मुण्डा समुदायको भूमि अधिकार, सांस्कृतिक पहिचान र सामाजिक न्यायका लागि गरेको बलिदान तथा उनीद्वारा सञ्चालन गरिएको “उलगुलान” (महान् विद्रोह) को विशेष रूपमा चर्चा गरिएको थियो। बिर्सा मुण्डालाई जनजाति समुदायले “धरती आबा” (धर्ती पिता) का रूपमा सम्मान गर्दछन्, र उनका विचार आज पनि जनजाति समुदायलाई अधिकारका लागि संघर्ष गर्न प्रेरणा दिने स्रोत बनेको सीएपीले आज प्रेस विज्ञप्तिमा बताएकाे छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सीएपी अध्यक्ष गणेश राईले उत्तर सिक्किमका जनजातिहरू राज्यको विकास, सुविधा र अवसरबाट निरन्तर उपेक्षित रहेको दाबी गरे। उनले भने, “उत्तर सिक्किमका 99.99% जनजाति समुदाय आज पनि सरकारी प्राथमिकताबाट अल्लगिएका छन्। स्वास्थ्य सेवा, शिक्षा र आधारभूत पूर्वाधार जहाँ जनजाति बसोबास गर्छन्, त्यहीँ नै व्यवस्थित रूपमा उपलब्ध हुनुपर्छ। बिरसा मुण्डा सिक्किमका जनजातिहरूको प्रेरणाको श्रोत हुन्, र उहाँका विचारकै बाटो समाते मात्र जनजाति सशक्तिकरण सम्भव छ।”
अध्यक्ष राईले जनजाति समुदायका हक–अधिकारलाई सुनिश्चित गर्न, उनीहरूको आवाज सशक्त रूपमा नीतिगत तहमा पुर्याउन तथा न्यायसंगत अधिकारको रक्षा गर्न सिटिजन एक्सन पार्टी–सिक्किम सधैं सशक्त रूपमा उभिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पीडी शेर्पा, ओङ्देन लेप्चा, जोर्बु लेप्चा र टासी भोटियाले पनि जनजाति पहिचान, अधिकार र विकासका मुद्दामा पूर्ण ऐक्यबद्धता प्रकट गर्दै बिरसा मुण्डाको विचार आजको पुस्ताका लागि अझ महत्वपूर्ण भएको उल्लेख गरे।
हिन्दुस्थान समाचार / बिशाल