सन्तोष कुमार आले र दीपा राईलाई 'दोस्रो परी प्रकाशन पुरस्कार' ले अभिनन्दित
सन्तोष कुमार आले र दीपा राईलाई 'दोस्रो परी प्रकाशन पुरस्कार' ले अभिनन्दित


गान्तोक, 15 नोभेम्बर (हि.स.)। परी प्रकाशनले आज राजधानीको मनन केन्द्रमा आयोजित एक भव्य समारोहबीच संस्थाको पॉंचौं स्थापना दिवस मनायो। परी प्रकाशन, सोरेङद्वारा आयोजित यस कार्यक्रममा मुख्यमन्त्री एवं परी प्रकाशनका मुख्य संरक्षक प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस अवसरमा नेपालका प्रतिष्ठित नाटककार, उपन्यासकार, गीतकार एवं कवि सरूभक्त श्रेष्ठ विशेष रूपमा उपस्थित थिए।

कार्यक्रममा सर्जक सन्तोष कुमार आले र चित्रकार एवं कवित दीपा राईलाई दोस्रो परी प्रकाशन पुरस्कारले पुरस्कृत गरियो। अभिनन्दित व्यक्तित्वहरूलाई मुख्यमन्त्रीको बाहुलीद्वारा पुरस्कृ​त गरियो।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा परी प्रकाशन स्थापना गर्नुको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै प्रकाशनले आफ्ना कृतिहरू प्रकाशित गर्दा चुनौतीहरूको सामना गर्ने उपेक्षित लेखक र कविहरूलाई सहयोग गर्ने लक्ष्य राखेको बताए। संस्थाले प्रख्यात लेखक र कविहरूलाई सम्मान गर्दै उदीयमान आवाजहरूलाई प्रोत्साहन गरिरहेको उनले बताए। मुख्यमन्त्रीले पुरस्कृत व्यक्तिहरूलाई बधाई दिए र सबै लेखक, कवि, पाठक, समर्थक, प्रतिष्ठित व्यक्तिहरू र परी प्रकाशन टोलीप्रति कृतज्ञता व्यक्त गरे।

प्रतिष्ठित नाटककार, उपन्यासकार, गीतकार एवं कवि सरूभक्त श्रेष्ठले न्यानो आतिथ्यप्रति कृतज्ञता व्यक्त गर्दै राज्यमा साहित्य र कलाको उत्थानप्रति मुख्यमन्त्रीको समर्पणको सराहना गरे। उनले सिक्किमको समृद्ध कलात्मक प्रतीभाको सराहना गर्दै राज्यको साहित्यिक धरोहरको संरक्षण र संवर्द्धनको महत्वमा जोड दिए।

परी प्रकाशनका अध्यक्ष सीपी शर्माले परी प्रकाशनको अहिलेसम्मका यात्रामाथि प्रकाश पारे। उनले साहित्यको संवर्द्धनमा मुख्यमन्त्रीको निरन्तर समर्थनको सराहना गर्दै विद्यार्थीहरूले साहित्यक परम्परालाई अगाडि बढ़ाएर लैजाने छन् भनी आशा व्यक्त गरे।

कार्यक्रमलाई अभिनन्दित व्यक्तित्वहरूले पनि सम्बोधन गरेका थिए। यस अवसरमा वि​भिन्न पुस्तकहरूको अतिथिहरूको बाहुलीद्वारा लोकार्पण गरियो। कार्यक्रमको शुरुवात पद्मश्रीले सम्मानित साहित्यकार स्वर्गीय जीएस लामाको साहित्य योगदानको कदर गर्दै श्रद्धाञ्जली दिएर गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande