
कोलकाता, 19 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले प्रवर्तन निदेशालय (ईडी)- सित पश्चिम बंगालमा तृणमूल कंग्रेसका नेताहरू अनि बालुवा माफियामाझको कथित गठजोड़को व्यापक जाँच गर्ने अनुरोध गरेको छ। आसनसोल दक्षिणबाट भाजपा विधायक अग्निमित्रा पलले ईडीलाई पठाएको पत्रमा आरोप लगाएकी छन्, आसनसोल नगरनिगमको वार्ड नम्बर-87का पार्षद तरूण चक्रवर्तीले दमरा घाट, दामोदर नदीबाट हुने अवैध बालुवा खननलाई प्रेरित गरेर यसबाट ठूलो धन आर्जन गरिरहेका छन्।
फ्याशन डिजाइनरबाट राजनीतिमा प्रवेश गरेकी अग्निमित्रा पलले आफ्नो पत्रमा केही कथित बालुवा तस्करी गिरोहको विवरण पनि दिएकी छन्। उनले भनिन्, अवैध खननको कारणले दामोदर नदीको प्राकृतिक प्रवाह प्रभावित भइरहेको छ। कतिपय स्थान जोखिमपूर्ण बनेको छ जहाँ नुहाउन जाने मानिसहरूको ज्यान गइरहेको छ।
पल अनुसार बालुवाले भरिएका ट्रक तथा ट्र्याक्टरहरूको लगातार ओहोर-दोहोरले गाउँका सड़कहरू बिग्रिरहेका छन् साथै वातावरण पनि दूषित भइरहेको छ, त्यसैले यस मामिलामा तुरून्तै ईडीले हस्तक्षेप गर्न आवश्यक छ।
यो घटनाक्रम त्यसबेला सामु आएको छ जतिबेला ईडीले हालैमा राज्यको बालुवा तस्करी मामिलामा व्यवसायी अरूण सराफलाई पक्राउ गरेको थियो जुन पश्चिम बंगालमा यसप्रकारको पहिलो पक्राउ थियो। त्यसपछि एजेन्सीले आसनसोल सहित केही स्थानहरूमा छापा मार्नको साथै अवैध बालुवा खनन नेटवर्कको जाँचलाई तीव्रता दिएको थियो।
यसपालि अग्निमित्रा पलले प्रत्यक्ष रूपमा तृणमूल पार्षद तरूण चक्रवर्तीमाथि बालुवा तस्करीमा संलिप्त रहेको आरोप लगाएकी छन्। यद्यपि चक्रवर्तीले सबै आरोपहरूलाई अस्वीकार गर्दै भने, दमरा घाटबाट बालुवा निकाल्ने गतिविधि वर्षौंदेखि चल्दै आइरहेको छ। स्थानीय गरीब अनि बेरोजगार मानिसहरूले साइकल, रिक्शा वा ट्र्याक्टरको माध्यमबाट बालुवा बोक्ने गर्दछन्। उनले दाबी गरे, यस अवैध खननको सम्बन्धमा उनले यसअघि पनि धेरैजना सम्बन्धित अधिकारीहरूलाई पत्र लेखिसकेका छन्। उनीविरूद्ध लगाइएको आरोप निराधार छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा