
खरसाङ, 2 नोभेम्बर (हि.स.)। प्रत्येक वर्ष झैं यसपाली पनि मंगर संघ भारत खरसाङ शहर समितिको आयोजनामा सामूहिक देउसी कार्यक्रम सम्पन्न गरियो। उक्त देउसी कार्यक्रम खरसाङको बस बिसौनीस्थित गोर्खा सांस्कृतिक संस्थानको चिन्तन भवनमा आइतवार सम्पन्न गरियो। तिहारको अन्तिम दिन अर्थात् एकादशीको दिन आज उक्त सामूहिक देउसी कार्यक्रम आयोजना गरिएको हो।
यस सामूहिक देउसी कार्यक्रममा मंगर संघ भारत खरसाङ शहर समितिका सभापति पुरण थापा, हेमन्तकुमार थापा, कोषाध्यक्ष गोपाल थापा लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथिको रुपमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी सचिव प्रनिता मुखिया घिसिङ तथा विशिष्ट अतिथि गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी उप सभापति बिजया ब्लोन, कोषाध्यक्षा मीना यल्मो, सल्लाहकार सहदेव चामलिङ र रानी थापा र आशा चामलिङ उपस्थित रहेका थिए।
मंगर संघ भारत खरसाङ शहर समितिको आयोजनामा विगत 2005 सालदेखि घर घरमा देउसी खेल्ने प्रथा शुरु गरेर दुई वर्षपछि टोल टोलमा र अहिले सामूहिक देउसी कार्यक्रम आयोजना गर्ने गरेको बताइएको छ। जातीय संस्कार र संस्कृति जगेरा गर्ने उद्देश्यका साथमा देउसी कार्यक्रम शुरु गरिएको हो। त्यसताक देउसी शुरु गर्नेहरुमा अवकाशप्राप्त कप्तान अदीपकुमार थापा, पारसचन्द्र आले, सीबी आले, स्व बीबी आले, स्व प्रेमकुमार आले विशाल आले, जीवन आले आदि रहेका थिए। गत वर्ष खरसाङको भिक्टोरियामा सामूहिक देउसी आयोजना गरिएको थियो भने यसपाली गोर्खा सांस्कृतिक संस्थान् खरसाङको चिन्तन भवनमा सम्पन्न गरियो।
मुख्य अतिथि घिसिङले आफ्नो सम्बोधनमा देउसीको सामाजिक, धार्मिक र सांस्कृतिक महत्व रहेको बताउँदै देउसीले तीन पक्षहरु सामाजिक, धार्मिक र सांस्कृतिक पक्षलाई संरक्षण गर्ने बताइन्। उनले लोक गीत, लोक संस्कृति र नृत्यहरु संरक्षण गर्नुपर्ने र हाम्रो संस्कार र संस्कृतिको बारेमा भावी पिँढीलाई बताउनु पर्ने बताइन्।
यस देउसी कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मंगर संघ भारत खरसाङ शहर समितिका सभापति पुरण थापा र सचिव हेमन्तकुमार थापाले मंगर संघ भारत खरसाङ शहर समितिको आयोजनामा प्रत्येक वर्ष सामूहिक देउसी कार्यक्रम आयोजना गरिने र यसपाली गोर्खा सांस्कृतिक संस्थान् खरसाङको चिन्तन भवनमा सामूहिक देउसी कार्यक्रम आयोजना गरिएको बताए। उनीहरूले सामूहिक देउसी कार्यक्रममा उपस्थित भइदिने सबैलाई धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक