
कोलकाता, 2 नोभेम्बर (हि. स.)। पश्चिम बंगालमा अवैध अनुप्रवेशकारीहरूको मुद्दामाथि फेरि एकपटक राजनीतिक विवाद चुलिएको छ। भारतीय जनता पार्टी (भाजपा)-का पूर्व प्रदेश अध्यक्ष एवं केन्द्रिय मन्त्री डा. सुकान्त मजुमदारले मुख्यमन्त्री ममता ब्यानर्जी र राज्य पुलिस प्रशासनमाथि गम्भीर आरोप लगाएका छन्।
उनले आइतवार आफ्नो एक्स (पूर्व ट्विटर) ह्याण्डलको एउटा पोस्टमा लेखे, दक्षिण दिनाजपुर जिल्लाको बन्शीहारी थाना क्षेत्रमा दुईजना बंगलादेशी अनुप्रवेशकारीहरूविरूद्ध बारम्बार लिखित सिकायत गरिएको भए पनि पुलिसले अहिलेसम्म कुनै कारबाही गरेको छैन।
डा. मजुमदारले दाबी गरे, सिकायतकर्ताले पुलिसलाई दुवै आरोपीको बंगलादेशी पहिचान पत्र तथा ठोस प्रमाण सुम्पिएको भए पनि राज्य पुलिस निष्क्रिय भएर बसेको छ। उनले आरोप लगाे, पुलिसको यस्तो व्यवहार मुख्यमन्त्री ममता ब्यानर्जीको “स्पष्ट निर्देश”-को कारणले गर्दा भएको हो जसानुसार “कुनै पनि अवैध अनुप्रवेशकारीविरूद्ध कारबाही गरिनु हुँदैन।”
केन्द्रिय मन्त्रीले लेेखे, “देशका असली नागरिकहरूको सुरक्षा अनि आन्तरिक व्यवस्था जोखिममा परेको भए पनि ममता ब्यानर्जी सरकारको ध्यान अवैध अनुप्रवेशकारीहरूको भोटलाई सुरक्षित पार्नेमाथि मात्र केन्द्रित छ।” उनले आरोप लगाए, ‘अवैध अनुप्रवेशकारीहरू नै ममता ब्यनर्जीको मनपर्दो भोट ब्यांक’ हो।
डा. मजुमदारको यस बयान पश्चात राज्यको राजनीतिमा एकपटक फेरि अनुप्रवेशकारी तथा नागरिकताको मुद्दामाथि विवाद शुरू भएको छ। अहिलेसम्म राज्य सरकार तथा पुलिस प्रशासनको पक्षबाट यी आरोपहरूको सम्बन्धमा कुनै प्रकारको आधिकारिक प्रतिक्रिया आएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा