
गेजिङ, 2 नोभेम्बर (हि.स.)। देन्ताम टुरिज्म डेभलपमेन्ट सोसाइटीले राज्य पर्यटन एवं नागरिक उड्डयन विभागको संयुक्त तत्वावधानमा आज 'दोस्रो चिवाभञ्ज्याङ 10के ट्रेल रन 2025' आयोजन गऱ्यो। मुख्य अतिथि विधायक आदित्य गोलेले उत्तरे बजारमा झण्डा हल्लाएर म्याराथन शुरू गरेका थिए। यस अवसरमा विधायक सुदेश लिम्बू, विधायक इरुङ तेन्जिङ लेप्चा, पर्यटन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्गपा, कानुन विभागका सल्लाहकार लक्ष्मण गुरुङ, जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्गपा, म्याराथन म्यान अफ् सिक्किम अमर सुब्बा तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
म्याराथनमा सिक्किमलगायत देशका विभिन्न राज्यहरू र छिमेकी राष्ट्र नेपालका धावकहरू सहभागी बने। देन्तामको टाइटेनिक पार्कबाट शुरू भएको दौड़ माछापालन, कुनाबार, धनपाले, सेन्चुरी फेदीखोला र चित्रे हुॅंदै चिवाभञ्ज्याङ पुगेर समापन भएको थियो। मुख्य अतिथि विधायक गोलेले पनि दौड़मा भाग लिएका थिए।
यस अघि मुख्य अतिथि विधायक गोलेले आफ्नो सम्बोधनमा यस्ता कार्यक्रमहरूले आगन्तुकहरूलाई सिक्किमको समृद्ध सांस्कृतिक सम्पदाको बारेमा परिचित गराउन मद्दत गर्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। उनले मानेबुङ-देन्तामका आयोजकहरूलाई बधाई दिए र सहभागीहरूलाई आगामी 8 नोभेम्बरमा च्याखुङमा एलडी काजी फुटबल फाइनल समारोहसँगै आयोजना हुने खुल्ला म्याराथनमा सामेल हुन आमन्त्रित गरे, जहाँ प्रथम, दोस्रो अनि तेस्रो विजेतालाई क्रमश: ₹1,00,000, 75,000 र 50,000 को पुरस्कार राशि प्रदान गरिनेछ।
विधायक सुदेश कुमार सुब्बाले 'दिगो भोलिको लागि जिम्मेवार पर्यटन भन्ने थीममा आयोजित यो दौडको उद्देश्य प्राकृतिक सौन्दर्यको संरक्षण गर्दै दिगो पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको बताए।
महिला खुल्ला वर्गको दौड़मा अन्जुली सुब्बा प्रथम, बन्दना सुब्बा दोस्रो र बिनिता कामी तेस्रो भए। यसरी नै पुरुष खुल्ला वर्गको दौड़मा गंगाहाङ सुब्बा प्रथम, समन्त राई दोस्रो र निमसाङ लिम्बू तेस्रो भए। 36–49 वर्ष उमेर वर्ग (पुरुष) दौड़मा लिलानाथ कार्की प्रथम, अम्बर बहादुर लिम्बू दोस्रो र सरवन छेत्री तेस्रो भए।
विजेता र उपविजेताहरूलाई चिवाभञ्ज्याङमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा र विधायक कला राईको बाहुलीद्वारा पुरस्कार वितरण गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल