
तृणमूल तहमा पार्टीलाई बलियो बनाउन सामूहिक प्रयासमा जोड
गान्तोक, 2 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा आज एसकेएम पार्टी खाम्दोङ सिङताम निर्वाचन क्षेत्रको समन्वय बैठक गान्तोकमा सम्पन्न भयो। क्षेत्र विधायक तथा राज्य सडक तथा पुल विभागका मन्त्री एनबी दाहालको गान्तोकस्थित निवासमा भएको बैठकमा समन्वय सुदृढीकरण, सामूहिक प्रयास अभिवृद्धि र निर्वाचन क्षेत्रको निरन्तर प्रगति र विकास सुनिश्चित गर्ने विषयमा केन्द्रित प्रमुख विषयहरूमा छलफल भएको बताइएको छ।
बैठकमा मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज र फुचुङ भोटिया, अर्जुन अवार्डी जसलाल प्रधान, सिकुनका अध्यक्ष मंगलजीत राई, सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश कुमार तामाङ, सीएलसी अध्यक्ष शेराप भोटिया, एसकेएम सामाजिक सञ्जाल प्रकोष्ठका अध्यक्ष नविन दाहाल, संगठन प्रकोष्ठकी सचिव एक रूपा कार्की, जिल्ला र ग्राम पञ्चायत सदस्यहरू, ओएसडी शर्मिला छेत्री, सम्पूर्ण कार्यकारिणी सदस्यहरू र अन्य सक्रिय कार्यकर्ताहरूको उपस्थिति थियो।
यस अवसरमा क्षेत्र विधायक र उनकी धर्म पत्नि सबिना राई दाहाल दुवैले आफ्नो पार्टी सदस्यता नवीकरण गर्दै एसकेएम सदस्यता नवीकरण अभियानको शुरुवात गरे। यसैगरी पार्टी पदाधिकारीहरूलाई सदस्यता कार्ड पनि मन्त्रीले दाहालले हस्तान्तरण गरे। बैठकमा सिङताम खाम्दोङ निर्वाचन क्षेत्रमा सदस्यता तथा वार्डस्तरीय समिति गठन अभियान 7 नोभेम्बरदेखि शुरु गर्ने र 16 नोभेम्बरभित्र सबै वार्डहरूलाई समेटेर सम्पन्न गर्ने निर्णय गरियो। यी अभियानहरू क्षेत्रका विधायक तथा मन्त्रीको उपस्थितिमा आयोजना गरिनेछ।
मन्त्री दाहालले आफ्नो सम्बोधनमा निर्वाचन क्षेत्र स्तरका पार्टी नेता र पदाधिकारीहरूलाई तृणमूल तहमा पार्टीलाई बलियो बनाउन सामूहिक रूपमा काम गर्न आह्वान गरे। उनले तृणमूल क्षेत्र आधार रहेकाले त्यसलाई बलियो बनाउनु आवश्यक रहेको मन्तव्य राख्दै यसले पार्टी अझ मजबुत बनिने बताए। उनले निर्वाचन क्षेत्रका सबै वार्डहरूमा इमान्दार र समर्पित कार्यकर्ताहरूलाई लिएर डब्ल्युएलसी गठन गर्न जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल