
पाकिम, 2 नोभेम्बर (हि.स.)। सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले आज रङ्गेलीमा महकुमा न्यायालय निर्माणको लागि आधारशीला राखे। यस अवसरमा सिक्किम उच्च न्यायालयकी न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राई विशिष्ट अतिथि थिइन्।
कार्यक्रममा राज्य भवन तथा आवास विभागका मुख्य अभियन्ता एवं सचिव आशा गुरुङले परियोजनाको प्राविधिक प्रतिवेदन पेश गरिन्। रङ्गेली कोर्ट 4.65 ऐकर क्षेत्रमा निर्माण गरिनेछ, जसमा मुख्य न्यायालय भवन, जुडिसियल म्याजिस्ट्रेट भवन र न्यायाधीशहरूका लागि अतिथि गृह सामेल रहनेछन्। यसैगरी, कोर्टरूम, जजहरूका च्याम्बर, प्रतीक्षालय, कर्मचारी कक्ष, पुस्तकालय, नर्सिङ रूमसहित क्रेच, सम्मेलन हल, भिडियो कन्फ्रेन्स रूम आदि पनि रहनेछन्।
कार्यक्रममा सिक्किमका लोकायुक्त न्यायमूर्ति एपी सुब्बा, सिक्किम हाईकोर्टका रेजिस्ट्रार जनरल, प्रधान जिल्ला एवं सत्र न्यायाधीश, कानुन विभागका सचिव, बार एसोसिएशन अफ् सिक्किमका अध्यक्ष र उपाध्यक्ष तथा अन्यहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल