
गान्तोक, 21 नोभेम्बर (हि.स.)। सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङको अध्यक्षतामा आज टाशीलिङ सचिवालयमा मङ्गन जिल्लाको सम्पर्क स्थिति आकलन गर्न एक समीक्षा बैठकको अध्यक्षतामा गरे। बैठकमा 27 माउण्टेन डिभिजनका जनरल कमाण्डिङ अफिसर, बीआरओका मुख्य अभियन्ता, सडक एवं पुल विभागका सचिव, भूराजस्व विभागका वरिष्ठ अधिकारीहरू तथा गान्तोक र मङ्गनका जिल्लापालहरू उपस्थित थिए।
बैठकमा चुङथाङ लाचेन मार्ग र डिक्चु मङ्गन मार्गमा सडक पुनर्स्थापनाको प्रगति, पुलको मरम्मति, पैह्रो सफा गर्ने कार्य आदि विषयमा जानकारी गराइयो। यसैगरी, तरम छुमा पुल निर्माणको कार्य अन्तिम चरणमा रहेको र दिसम्बर 2025 सम्म पूरा गरिने बताइयो। यो पुलको निर्माण कार्य पूरा भएपछि चुङथाङ लाचेन मार्ग पुन: खोलिने छ।
मुख्य सचिवले सबै विभागहरू र कार्यान्वयन एजेन्सीहरूलाई समन्वय कायम राख्दै काम गर्न, अविलम्ब अवरोधहरू हटाउन र दिसम्बर २०२५ सम्ममा मार्ग पुनः खोल्ने कुरा सुनिश्चित गर्न आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल