वरिष्ठ समाजसेवी दिलीपकुमार बराइलीको निधन: विभिन्न संघ संस्थाहरुद्वारा श्रद्धाञ्जली अर्पण
वरिष्ठ समाजसेवी दिलीपकुमार बराइलीको निधन: विभिन्न संघ संस्थाहरुद्वारा श्रद्धाञ्जली अर्पण


खरसाङ, 21 नोभेम्बर (हि.स.)। गोर्खा जन पुस्तकालय, खरसाङका वरिष्ठ आजीवन सदस्य, जागृति परिवार खरसाङका पूर्व उपाध्यक्ष तथा खरसाङ विश्वकर्मा समाजका पूर्व अध्यक्ष अनि वर्तमान प्रमुख सल्लाहकार दिलीपकुमार बराइलीको बिहिवार निधन भएको छ। 16 मार्च, 1954 मा डुवर्स, पत्थरझोड़ामा जन्मेका स्वर्गीय बराइलीको स्कूले जीवन पेदोङ सन्त जेवियर्स स्कूलमा बितेको थियो।

सानैदेखि खेलकूदमा झुकाउ तथा चासो राख्ने बराइली आफ्नो समयका एक असल फुटबल खेलाडीको रूपमा चर्चित थिए। पछि कर्मचारी जीवनमा प्रवेश गरेपछि 80 को दशकमा उनी खरसाङ आए। यही उनले लक्ष्मी दियालीसँग घरजम बसाले अनि स्थायी रूपले उनले खरसाङलाई कर्मथलो बनाए।

गोर्खा जन पुस्तकालयका आजीवन सदस्य रहेर उनले संस्थाको हरेक आवश्यक घड़ीमा एक समर्पित सदस्यको रूपमा सहयोगको निम्ति कम्मर कस्थे। उनीभित्र एक कलाकारमा हुने प्रतिभा पनि उत्तिकै रहेको कुरो खरसाङको सबैभन्दा पुरानो नाट्यसंस्था जागृति परिवारसँग पनि सलंग्न थिए। उनी यस संस्थाका मृत्युपर्यन्त उपाध्यक्ष पदमा आसिन थिए।

समाजप्रति उनको योगदानहरूको मूल्याङ्कन गर्दै दलित साहित्य अकादेमीले उनलाई सन् 2014-मा बाबासाहेब डा. अम्बेडकर फेलोसिप राष्ट्रिय पुरस्कारले सम्मानित गरेको थियो। बराइली केही समयदेखि स्वास्थ्य समस्याहरूसँग जुझिरहेका थिए। उनी सिलगढ़ीको एक निजी चिकित्सालयमा सघन उपचाराधीन थिए। उपचारको क्रममा बिहिवार उनको निधन भएको हो। उनले आफूपछि दुई छोरा बुहारीहरू र नातागोताहरू छाड़ेर गएका छन्।

यस दुःखद घड़ीमा समाजका वर्तमान अध्यक्ष निर्मलकुमार गहतराजको अगुवाइमा एउटा टोली उनको निवासस्थलमा पुगी शोकसन्तप्त परिवारप्रति समवेदनासहित दिवङ्गत आत्माप्रति श्रद्धासुमन अर्पण गरियो। पछि उनको निवासस्थलकै छेउमा विश्वकर्मा समाज भवनमा उनको स्मरणमा मौन धारण गरी दिवङ्गत आत्माप्रति श्रद्धासुमन अर्पण गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande