
गान्तोक, 21 नोभेम्बर (हि.स.)। भारतका लौह पुरुष सरदार बल्लभभाई पटेलको 150औं जयन्तीको अवसरमा आज राजधानीमा जिल्लास्तरीय एकता मार्च आयोजन गरियो। पाल्जोर स्टेडियमबाट शुरू भएको एकता मार्च जिल्लापाल कार्यालय पुगेर समाप्त भयो।
कार्यक्रममा गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलराम अधिकारी मुख्य अतिथि, राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिन्जिङ डब्ल्यु. छोपेल, सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी, जिल्लापाल तुषार जी निखारे, पुलिस अधीक्षक महेन्द्र सुब्बा आदि उपस्थित थिए।
राज्यको बृहत् पहलको एक भागको रूपमा सिक्किमले भारतको विकसित भारत २०४७ को दृष्टिकोणसँग मिल्दोजुल्दो राज्यस्तरीय र्यालीसहित सात र्यालीहरू आयोजना गरिरहेको छ। यी र्यालीहरू आयोजना गर्नुको उद्देश्य विद्यार्थीहरूलाई देशका प्रथम गृहमन्त्री सरदार पटेलको योगदानको बारेमा शिक्षित गर्नु रहेको बताइएको छ।
एकता मार्चमा विभिन्न सरकारी विभाग, युवा समूहहरू र विद्यार्थीहरू सहभागी बनेका थिए। मुख्य अतिथि अधिकारीले आफ्नो सम्बोधनमा सरदार बल्लभभाई पटेलको योगदानमाथि प्रकाश पार्दै राष्ट्र निर्माणमा युवाहरूको सहभागितामाथि जोड दिए। उनले युवाहरूलाई सरदार पटेलले देखाएको मार्गमा हिड्न र सुनौलो, समृद्ध र समर्थ सिक्किमको सपनालाई साकार बनाउन आह्वान गरे।
जिल्लापाल निखारेले सरदार पटेलको जीवनमाथि शोध गर्न प्रोत्साहित गर्दै उनको नेतृत्वबाट प्रेरणा लिन आह्वान गरे। उनले 200 भन्दा धेरै रियासतहरूलाई भारतीय संघमा एकीकृत गर्न निर्वाह गरेको उल्लेखनीय योगदानको निम्ति सरदार पटेलप्रति श्रद्धाञ्जली अर्पित गरे।
कार्यक्रममा मुख्य अतिथिले उपस्थित सबैलाई एकता शपथ दिलाएका थिए।
हिन्दुस्थान समाचार / बिशाल