इण्टरलोक्युटरको नियुक्ति चुनाउ नजिक भाजपाले भोटको निम्ति चलाउने एउटा भावनात्मक प्रोपागान्डा मात्र हो: अनित थापा
अनित थापा


सोनादा, 5 नोभेम्बर (हि.स.)। सोनादा पचेङ समष्टि भ्रमणमा पुगेका जीटीए मुख्य कार्यपाल अनित थापाले एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'चुनाउ नजिकमा जातिको कुरा गर्छ, गोर्खाको मुद्दाको कुरा गर्छ, तर त्यो भन्दा अघि? भजपा सरकारले चाह्यो भने जे पनि दिनु सक्छ। तर, दिँदैन। चुनाउ नजिक आउँदैछ। भाजपाले इण्टरलोक्युटरको नियुक्ति भनेर नयाँ प्रोपागान्डा शुरु गर्दैछ।'

भूतपूर्व सैनिक सङ्गठनले आयोजना गरेको कार्यक्रममा उनले स्थानीय वासिन्दाहरुको बाटो निर्माणको मागलाई जायज माग रहेको बताउँदै भने, 'म सरकारसँग मिलेको कारण यस्तै बाटो घाटो बनाउनु हो। तर, म मात्र सरकारसँग मिलेर हुँदैन। पहाडको सबै मान्छे पनि मिल्नुपर्छ। मान्छे नै मिलेन भने सरकारले यस्ता काम गर्नु पैसा पनि दिँदैन। चुनाउ छेउ हामी भावुक बन्छौ। तर, चुनाउ सकेपछि हामीलाई बाटो, समाज घर, पानीको याद आउँछ। जब हामी चुनाउ हार्छौ तब हारेको मान्छेलाई सरकारले पैसा पनि दिँदैन। पैसा नपाए बाटो घाटो कहाँबाट बनाउँनु?'

थापाले अझ भने, 'मूल देउताले हामीलाई बिर्सी सकेछ। त्यसैले म कूल देउतातर्फ लागेको। चुनाउमा सरकार पक्षलाई जिताउनु भनेको पहाडको विकासको निम्ति हुनेछ। पहाडको विकासको निम्ति हामीले सत्ता पक्षको उम्मेदवारलाई नै जिताउनु पर्छ। हाम्रो क्षेत्र सुरक्षित राख्नु पनि हामीले चुनाउ जित्नुपर्छ। हामी भावुक भएर भाजपालाई चुनाउमा जितायौं, तर हामीले आजसम्म के पायौं? काँटीसम्म दिएको छैन। रिसले भोट बिगार्नु हुँदैन। चुनाउ जित्नु र हार्नुमा नै पहाडको विकास भर पर्छ।'

अनित थापाले सोनादाको पर्यवेक्षक आफै बस्ने अनि सोनादा क्षेत्रमा थप 3 वटा नयाँ बाटोको निर्माण हुने घोषणा पनि गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande