सोनादा पचेङ समष्टिको पैह्रोग्रस्त क्षेत्रहरुको जीटीए प्रमुख अनित थापाद्वारा निरीक्षण भ्रमण
सोनादा पचेङ समष्टिको पैह्रोग्रस्त क्षेत्रहरुको जीटीए प्रमुख अनित थापाद्वारा निरीक्षण भ्रमण


सोनादा, 5 नोभेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले आज सोनादा पचेङ समष्टि अन्तर्गत फूलबारी होप टाउनको पैह्रोग्रस्त क्षेत्रको निरीक्षण भ्रमण गर्दै पैह्रो पीडितहरुसित भेटघाट गरेका छन्। यसावधि उनले सर्वप्रथम सोनादाको ग्यारेज लाइनदेखि ओह्रालो जाने रोडको निरीक्षण गरेका थिए।

उनले उक्त रोडको निरीक्षणपछि भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनका पदाधिकारीहरुसित पनि बैठक गरे। भूतपूर्व सैनिक संघको पचेङस्थित भवनमा भएको बैठकमा उनले जीर्णावस्थामा रहेको यस रोडको मरमत्ति गरिदिने वचन दिए। उनले रोड विषयमा सभा गरेपछि सोनादा पचेङ समष्टि अन्तर्गत रंगबुल ग्राम पञ्चायतको फूलबारी होप टाउन क्षेत्रमा पैह्रोग्रस्त स्थानहरुको भ्रमण निरीक्षण गरे।

जीटीए प्रमुख अनित थापाले फूलबारीको होप टाउन क्षेत्रमा पैह्रोले मृत्यु भएको परिवारसित भेटघाट गर्नुका साथै पैह्रो क्षेत्रको निरीक्षण भ्रमण गरेका थिए। उनले पैह्रोले प्रभावित परिवारहरुलाई राहत शिविरमा राखिएको होप टाउनको सार्वजनिक भवनको पनि निरीक्षण गरे। यसावधि उनले पैह्रो प्रभावित परिवारहरुलाई भेटेर सुविधा असुविधा विषयमा बुझ्दै सहयोगको आश्वासन दिए।

यस समष्टिको फूलबारी होप टाउन क्षेत्रमा गत 4 अक्टोबरको राति आएको भारी वर्षापछि गएको पैह्रोले एकजनाको मृत्यु भयो भने धेरै घरहरु प्रभावित बनाएको छ। जीटीए प्रमुखसित डेपुटी चेयरम्यान राजेस चौहान, जीटीएको सल्लाहकार एवं भागोप्रमो केन्द्रिय महासचिव अमर लामा, क्षेत्रीय सभासद अनोश थापा, पूर्व सभासद महेन्द्र प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande