गिरिराज सिंहले मतदानपछि भने– बुर्का लगाएका प्रत्येक व्यक्तिको जाँच गर्नुपर्छ
Giriraj Singh


पटना, ६ नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको पहिलो चरणका लागि आज मतदान भइरहेको छ। पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका उम्मेदवारहरूको भाग्य ईभीएममा बन्द हुनेछ।

लखीसराय विधानसभा क्षेत्रको बहड़ियास्थित मतदान केन्द्र नं. १६८ (मध्य विद्यालय नं. २, पूर्वी भाग) मा केन्द्रिय मन्त्री गिरिराज सिंहले मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “यदि भारतमा मन्दिर बन्‍दैन भने मन्दिर पाकिस्तानमा बनाइनेछ।” यससँगै उनले लालू यादव, तेजस्वी यादव र राहुल गान्धीमाथि पनि प्रहार गरे। गिरिराज सिंहले भने, “बुर्का लगाएका प्रत्येक व्यक्तिको जाँच हुनुपर्छ।”

बिहार सरकारका मन्त्री तथा दरभंगा विधानसभा सिटबाट भाजपा उम्मेदवार संजय सरावगीले मतदान गरेपछि भने, “जसलाई सत्तामा आउनु छैन, उनीहरू (राजद) यस्ता झूटा वाचा गर्छन्... जनताले यस्तो कुरा राम्ररी बुझ्छ र आम जनता प्रधानमन्त्री मोदी, मुख्यमन्त्री नितीश कुमार र राजगसँगै छ।”

बिहारका उपमुख्यमन्त्री तथा लखीसराय विधानसभा सिटबाट भाजपा उम्मेदवार विजय कुमार सिन्हाले मतदान गरेपछि भने, “यो लोकतन्त्रको महापर्व हो। छठ पर्वपछि बिहारका सबैलाई लोकतन्त्रको महोत्सवमा सहभागी हुने अवसर मिलेको छ। जसरी हामी छठ पूजा सामाजिक सौहार्दका साथ मनाउँछौं, त्यसरी नै सबैले लोकतन्त्रको यो पर्वमा सहभागी हुनुपर्छ। म सबैसँग अनुरोध गर्छु— बिहारको गौरव बढाऔं, अब बिहारलाई बदनाम गर्नेहरूबाट मुक्त गर्ने समय आएको छ।

बिहारका मन्त्री तथा बाँकीपुरबाट भाजपा उम्मेदवार नितिन नवीनले पटनास्थित दीघाको मिलर हाई स्कूल बुथ नं. ३९४ र ३९६ मा मतदान गरे। मोकामा विधानसभा क्षेत्रबाट राजद उम्मेदवार वीणा देवी र पूर्व सांसद सूरजभान सिंहले मतदान गर्नुअघि पूजा गरे। सूरजभान सिंहले भने, “हामीले भगवानबाट आशिर्वाद लिएका छौं। आज ठूलो पर्व हो। म सबै बिहारवासीसँग अपिल गर्छु, आज भाइचारा देखाऔं, पहिले मतदान, अनि जलपान गरौं।”

पटनास्थित भाजपा नेता भीखुभाई दलसानियाले पनि मतदान गरे।

समस्तीपुर विधानसभा क्षेत्रको कर्पूरीग्राम गाउँस्थित राजकीय प्राथमिक विद्यालय (अनुसूचित जाति टोल) मतदान केन्द्र नं. ७३ मा केन्द्रिय कृषि राज्यमन्त्री रामनाथ ठाकुरले पनि आफ्नो मत प्रयोग गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande