
खरसाङ, 06 नोभेम्बर (हि.स.)। आर्टिफिशियल इन्टिलिजेन्स, कोडिङ् अनि रोबोटिक्समा युवाहरूलाई सशक्त बनाउने साथै यस क्षेत्रमा भविष्यका निम्ति कौशल विकसित गर्ने महत् उद्देश्य लिएर खरसाङका अभिषेक दर्नालले सालबारीमा थिङ्कमशिन एआई ल्याब्सको नयाँ केन्द्र स्टेम्पेडियाको सहयोगमा खोलेका छन्। सालबारीमा आज एक समारोहबीच विधिवत रुपमा यस केन्द्रको उद्घाटन गरिएको छ।
धेरै संख्यामा विद्यार्थी, अभिभावकगण साथै शिक्षा अनुरागीहरुको उपस्थितिमा आयोजित समारोहमा सबैले एआई पावर्ड, रोबाेट्स साथै हातद्वारा सिकाइको अनुभवको प्रत्यक्ष प्रदर्शनी अवलोकन पनि गरेका थिए। केन्द्रका संस्थापक अभिषेक दर्नालले यस अवसरमा आफ्ना दृष्टिकोणहरु साझा गर्दै यस क्षेत्रलाई भावी सन्ततिको निम्ति प्रविधि अध्ययनको केन्द्र बनाउने आफ्नो योजना रहेको बताए।
उनले आफ्नो लक्ष्य विद्यार्थीहरुलाई प्रविधिको प्रयोग गर्न मात्र होइन, तर सृजना गर्न पनि सहयोग पुऱ्याउने रहेको अवगत गराए। यस विशेष अवसरमा थिङ्कमशिन एआई ल्याब्सद्वारा कोडिङ् अनि रोबोर्टिक्सका दिसम्बर जनवरीको निम्ति निर्धारित दुई महिने क्र्यास कोर्समा प्रथम चरणका बीसजना आवेदनकारीलाई 10 प्रतिशत छुट प्रदान गर्ने घोषणा पनि गरिएको छ। यस क्षेत्रमा यस प्रकारका केन्द्रहरुको स्थापनाले वर्तमानको प्रतिस्पर्धापूर्ण समयमा हाम्रा विद्यार्थी र युवाहरूलाई धेरै लाभ पुग्ने सबैले मन्तव्य प्रकट गर्दै हर्ष प्रकट गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक