
अनित थापाले जीटीएको प्रोपर्टी बेच्यो भन्छ, तर सरकारकाे प्रोपर्टी कसैले बेच्नु सक्छ? अनित थापा
सोनादा, 06 नोभेम्बर (हि.स.)। रंगबुल निम्न बुनियादी पाठशाला भवन अनि रंगबुल खेल मैदानमा निर्माण गरिएको पेभिलियनको उद्घाटन आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले गरेका छन्। कार्यक्रममा जीटीए प्रमुख कार्यपाल मुख्य अतिथि थिए भने जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान, कार्यकारी सभासद सतीश पोख्रेल, सभासद उदय देवान र प्रमोस्कर ब्लोन आदि विशिष्ट अतिथि थिए।
कार्यक्रममा प्रमुख अतिथिको बाहुलीद्वारा रंगबुल निम्न बुनियादी पाठशाला भवन अनि रंगबुल खेल मैदानमा निर्माण गरिएको पेभिलियनको उद्घाटन गरिएको छ। उनको बाहुलीबाट नै यस समष्टिमा दुई तीनवटा नयाँ कामहरुको पनि शिलान्यास गरियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले भने, हामी कम्ती बोल्छौँ, तर आफ्नै लयमा काम गरिरहन्छौं। आज त्यही लयमा काम गरेअनुसार रंगबुल निम्न बुनियादी पाठशाला भवन अनि रंगबुल खेल मैदानमा निर्माण गरिएको पेभिलियनको उद्घाटन गरेको छु। हामी कर्मलाई सिद्धान्त मान्नेहरू समाजको उन्नतिको निम्ति गरिएको कार्यलाई आफ्नो उपलब्धि मान्छौँ। यस्ता ससाना कार्यहरूले नै एक दिन ठूलो निर्माण हुनेछ।'
उनले अघि भने, 'बीजीपीएमका सभासदहरू सदैव मैदानमा जनतामाझ छन्। प्रशासनिक कार्यको साथमा सबैले समष्टिको हेरचाह पनि गरिरहेका छन्।'
उनले आफ्नो सम्बोधनमा अझ भने, 'अनित थापाले जीटीएको प्रोपर्टी बेच्यो भन्छ। सरकारकाे प्रोपर्टी कसैले बेच्नु सक्छ? भाजपा सरकारले एयरपोर्ट लिजमा दिएको छ। ठूला ठूला उद्योगहरू लिजमा दिएका छन्। सरकारले होटल चलाउँदैन। तर, त्यो होटलबाट आएको रेभेन्युले हाम्रो नानीहरूलाई सहुलियत दिन सक्छौँ।'
थापाले भने, 'पहाडका नेताहरु आफ्नो भिजन देखाउँदैन, तर उटपट्याङ काम गर्छन्। उनीहरूले यस्तो काम गरेर समयको बर्बादी गरिरहेका छन्। त्यसैले उनीहरू जहिले पनि हार्छन्। आफ्नो भिजन देखाएर प्रडक्टिभ काम गऱ्यो भने हाम्रो पहाड उन्नतितर्फ लाग्छ। धैर्यसँग काम गऱ्यो भने एक दिन राम्रो परिणाम आउनेछ।'
कार्यक्रमलाई जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक