तीनधारेमा तीन दिवसीय ल्हाबब दुछेन पूजा आयोजना गरिने
तीनधारेमा तीन दिवसीय ल्हाबब दुछेन पूजा आयोजना गरिने


खरसाङ, 06 नोभेम्बर (हि.स.)। तीनधारेको मिठाईडाँडास्थित पद्यमा छोइलिङ गुम्बामा तीन दिवसीय ल्हाबब दुछेन पूजा आयोजना गरिने भएको छ। उक्त तीन दिवसीय पूजा गुरु मैत्री संघ तीनधारेको आयोजनामा आगामी 9 देखि 11 नोभेम्बरसम्म आयोजना गरिने छ। हाल पूजा आयोजनका लागि गुम्बा परिसरमा तयारी चलिरहेको छ।

यस तीन दिवसीय ल्हाबब दुछेन पूजामा पद्मा छोइलिङ गुम्बाका प्रमुख लामा म्हेमे बुम्बा डुम्जन र खरसाङबाट लामा फुङचुङ पाख्रीनद्वारा पूजा गरिने बताइएको छ। त्यसरी नै पूजाको अन्तिम दिन 11 नोभेम्बरमा जयगाउँबाट टुल्कुला रिम्पोर्छे कुन्साङ राङ्डोल उपस्थित भएर वाङ वितरण गर्ने जानकारी गुरु मैत्री संघ तीनधारेका सचिव साङ्गे योञ्जनले गराएका छन्।

उनले बताए अनुसार, गुरु मैत्री संघ तीनधारेको स्थापना सन् 2003 मा भएको थियो। संघले आफ्नो स्थापनाकालदेखि नै तीनधारेमा लगातार रुपमा ल्हाबब दुछेन पूजाको आयोजना गर्दै आइरहेका छन्। यस संघका सभापति अनित स्याङ्देन र सचिवमा स्याङ्गे योञ्जन रहेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande