सीएपीद्वारा पार्टी अध्यक्ष विरुद्ध भएको एफआईआरको निन्दा
सीएपीद्वारा पार्टी अध्यक्ष विरुद्ध भएको एफआईआरको निन्दा


गान्तोक, 6 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको जनजाति परिषद्ले पार्टी अध्यक्ष गणेश राई तथा प्रवक्ताहरू महेश राई र अल्बर्ट गुरुङमाथि अनुसूचित जाति तथा अनुसूचित जनजाति (अत्याचार निवारण) ऐन, १९८९ अन्तर्गत साथै मानहानि अभियोगमा दायर भएको एफआईआरको कडा निन्दा गरेको छ। सीएपीले यसलाई सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारको प्रभावमा रहेका एकमुठी जनजाति व्यक्तिहरूबाट आफ्नो नेताको निर्देशनमा गरिएको कारबाही ठहर गरेको छ।

सीएपीले आज प्रेस विज्ञप्तिमा भनेको छ, वेस्ट पोइन्ट सरकारी स्कूल, ताथाङ्चेनमा मन्त्री सोनाम लामाले छोग्याल वंशको जग्गा अतिक्रमण गरेको, पूर्व मन्त्री एवं सत्तारूढ पार्टीको कार्यकारी अध्यक्ष कुङ्गा निमा लेप्चाको पुत्र तेम्पा ग्याछो लेप्चा, मुख्यमन्त्रीको सुरक्षा प्रमुख मधु प्रधानकी श्रीमती हिस्से छोडेन भोटियाद्वारा अतिक्रमण गरेको सिक्किमे जनता अघि खुलासा गरिएपछि जनताको आक्रोशबाट बाॅंच्न एउटा नाटक गरेको सीएपी सिक्किमको जनजाति परिषद् ठहर गर्दछ।

सिक्किम भू-राजस्व विभागका विश्वसनीय अभिलेखहरू, जसमा सर्वेक्षण नक्साहरू र सिक्किम सार्वजनिक जग्गा (अतिक्रमण) ऐन, १९६१ अन्तर्गतका सिक्किमको ऐतिहासिक दस्तावेज छन्, यी दस्तावेजहरुमा छोग्याल प्रशासनमा सम्पत्तिहरूको पुख्ता सबुतहरू रहेको सीएपीले विज्ञप्तिमा दाबी गरेको छ। सीएपीले आफ्ना नेतृत्वहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनीहरूको एकमात्र ‘अपराध’ भनेको हाम्रो सम्पदालाई कोल्टे दृष्टि राख्नेहरु विरूद्ध जनतालाई खबरदारी गराउनु हो, सरकारलाई पारदर्शिता र जवाफदेही बनाउनु हो भनी बताएको छ।

सीएपीले यो एफआईआरलाई सिक्किमको सम्पदालाई ध्वस्त गर्ने मनसाय, जनजाति समुदायहरूको आवाज थिच्ने कुचेष्टा, जनजाति सुरक्षाको नाममा कानुनलाई दुरुपयोग गर्ने खोक्रो कदम ठहर गरेको छ। सीएपीले एसकेएम सरकारलाई एफआईआर तत्काल फिर्ता लिन र जमीन अतिक्रमण गर्ने आरोपहरूको स्वतन्त्र छानबिन यथाशीघ्र गर्न माग गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande