
नयाँ दिल्ली, ७ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रगीत ‘वन्दे मातरम्’ को १५० वर्ष पूरा भएको अवसरमा शुक्रबार भने, वन्दे मातरम् केवल देशको स्वतन्त्रताको गीत मात्र होइन, तर स्वतन्त्र भारत कस्तो हुनेछ भन्ने ‘सुजलाम-सुफलाम’ सपना करोडौं भारतीयहरूका सामु प्रस्तुत गर्ने गीत हो। यसमा भारत माताको तुलना देवीका तीन स्वरूपसँग गरिएको छ। आज भारत विद्या, समृद्धि र शक्ति—यी तीन आयामहरूमा प्रगति गर्दै उक्त सपनालाई साकार गरिरहेको छ। वन्दे मातरम् हाम्रो वर्तमानलाई आत्मविश्वासले भरिदिन्छ, भविष्यलाई नयाँ हौसला दिन्छ र यस्तो कुनै संकल्प छैन जसको सिद्धि सम्भव नहोला, कुनै लक्ष्य छैन, जुन प्राप्त गर्न सकिँदैन भन्ने सन्देश दिन्छ।
प्रधानमन्त्री मोदीले आज नयाँ दिल्लीको इन्दिरा गान्धी ईन्डोर स्टेडियममा वन्दे मातरम् सम्बन्धी वर्षभर चल्ने स्मरणोत्सवको उद्घाटन गरे। यो स्मरणोत्सव ७ नोभेम्बर २०२५ देखि ७ नोभेम्बर २०२६ सम्म चल्नेछ। यस अवसरमा प्रधानमन्त्रीले स्मारक डाक टिकट र विशेष सिक्का पनि जारी गरे। उनले भने, सन् १९३७ मा वन्दे मातरम्को ‘आत्मा’ लाई अलग गरियो र यसको एउटा अंश हटाएर राष्ट्रको विभाजनका बीउ छरियो। त्यही विभाजनकारी सोच आज पनि देशका लागि चुनौती बनेर उभिएको छ।
प्रधानमन्त्री मोदीले भने, वन्दे मातरम् गीतमा भारत आमाको रूप देवीका तीन स्वरूपहरू—सरस्वती, लक्ष्मी र दुर्गासँग तुलना गरिएको छ। जसरी आमा जन्म दिने जननी पनि हुन्छिन्, पालन गर्ने पालनहारिणी पनि हुन्छिन्, र आवश्यकता पर्दा संहार गर्ने शक्तिरूपिणी पनि हुन्छिन्। भारत आमा विद्या दिने सरस्वती, समृद्धि दिने लक्ष्मी र अस्त्र-शस्त्र धारण गर्ने दुर्गा हुन्। पछिल्ला वर्षहरूमा संसारले भारतको यही विद्या, समृद्धि र शक्ति स्वरूपको उदय देखेको छ। विज्ञान र प्रविधिका क्षेत्रमा अभूतपूर्व प्रगति भएको छ, भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको छ, र जब आतङ्कवादले भारतको सुरक्षामाथि प्रहार गर्यो, तब नयाँ भारत सेवा मात्र होइन, विनाशकारी शक्तिहरूको प्रतिकार गर्न समेत सक्षम छ भन्ने कुरा संसारले देख्यो।
उनले भने, वैदिक कालदेखि नै राष्ट्रको अवधारणा भारतको चेतनामा रहिआएको छ। राष्ट्रलाई केवल भौगोलिक सीमा ठान्नेहरूका लागि राष्ट्रलाई ‘आमा’ को रूपले हेर्नु ठूलो कुरा हुन सक्छ। भारतले सभ्यताहरूको उत्थान-पतन, मानवताको अनन्त यात्रा र समयसँगै परिवर्तनलाई अनुभूत गरेको छ। यी अनुभवहरूले भारतले आफ्नो सभ्यताका आदर्शहरूलाई परिमार्जन गर्यो र नैतिकता तथा शक्तिको सन्तुलनलाई बुझ्यो।
उल्लेखनीय छ, स्मरणोत्सवको दिन देशभर सार्वजनिक स्थानहरूमा समाजका सबै वर्गको सहभागितासहित वन्दे मातरम्को पूर्ण संस्करण सामूहिक रूपमा गाइएको छ।
बंकिमचन्द्र चटर्जीले ७ नोभेम्बर १८७५ (अक्षय नवमी) को दिन वन्दे मातरम् गीतको रचना गरेका थिए। यो गीत ‘बंगदर्शन’ पत्रिकामा प्रकाशित उनको उपन्यास ‘आनन्दमठ’ को एक अंशका रूपमा सार्वजनिक भएको थियो। मातृभूमिलाई शक्ति, समृद्धि र दिव्यताको प्रतीकका रूपमा प्रस्तुत गर्दै यस गीतले भारतको एकता र आत्मगौरवलाई काव्यमय रूपले व्यक्त गर्यो, जो आज पनि राष्ट्रिय प्रेरणाको स्रोत बनेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी