
नयाँ दिल्ली, ७ नोभेम्बर (हि.स.)। राष्ट्रिय क्यान्सर जागरूकता दिवसको अवसरमा केन्द्रिय आयुष राज्य मन्त्री (स्वतन्त्र प्रभार) तथा स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री प्रतापराव जाधवले जनस्वास्थ्यको सुरक्षाका लागि सक्रिय र जन–केन्द्रित दृष्टिकोण आवश्यक रहेको बताएका छन्। उनका अनुसार, आधुनिक अंकोलोजी र आयुष प्रणालीहरूको एकीकृत मोडेल जीवनको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउन सक्छ, विशेषगरी समाजका कमजोर वर्गहरूका लागि यो वरदान सावित भइरहेको छ।
आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले भने, भारतमा विस्तार हुँदै गएको समन्वित क्यान्सर हेरचाह नेटवर्कले मन्त्रालयको प्रमाण–आधारित तथा रोगी–केन्द्रित समाधानप्रति रहेको प्रतिबद्धतालाई दर्साउॅंछ। उनका अनुसार, उत्कृष्टता केन्द्रहरू, अनुसंधान प्लेटफर्महरू तथा टाटा मेमोरियल सेन्टर, आर्य वैद्य शाला, एम्स लगायत प्रतिष्ठित संस्थाहरूसँगको सहकार्यले नयाँ उपचार अनुसन्धान, लक्षण व्यवस्थापन तथा रोगीहरूको जीवनस्तरमा सुधार भइरहेको छ।
आयुष मन्त्रालय उत्कृष्टता केन्द्रहरूको माध्यमबाट समन्वित क्यान्सर हेरचाह विस्तार गरिरहेको छ, जसमा मुम्बईस्थित टाटा मेमोरियल सेन्टरको इन्टीग्रेटिव केयर तथा आयुष ड्रग डिस्कभरी केन्द्र प्रमुख रूपमा समाविष्ट छन्। यी केन्द्रहरूले इन–सिलिको, प्रिक्लिनिकल तथा क्लिनिकल अध्ययन, विशेष ओपीडी तथा क्षमता अभिवृद्धिको क्षेत्रमा काम गरिरहेका छन्।
कोट्टक्कलस्थित आर्य वैद्य शालामा स्थापित एक समर्पित उत्कृष्टता केन्द्र जीवनको गुणस्तर सुधार तथा सहायक उपचारमा केन्द्रित छ। यस केन्द्रले पछिल्ला दुई वर्षमा २६,३५६ क्यान्सर बिरामी (जसमध्ये ३३८ जना फोक्सो क्यान्सरका बिरामी छन्) को उपचार–प्रबन्धन गरेको छ, जसले एकीकृत रोगी हेरचाहको प्रभाव देखाउँछ।
क्यान्सर विश्वभर मृत्युको दोस्रो प्रमुख कारण बनेको छ। धेरै देशहरूमा मुख, गर्भाशय ग्रीवा तथा स्तन क्यान्सरका घटनामा उल्लेखनीय वृद्धि भएको छ। भारतले यस चुनौतीको प्रभावकारी सामना गर्नका लागि शिक्षा, स्क्रिनिङ तथा समग्र स्वास्थ्य पद्धतिहरूमा विशेष ध्यान दिइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी