बिहारमा दोस्रो चरणको निर्वाचनका कारण ९ देखि ११ नोभेम्बरसम्म नेपाल–भारत सीमा बन्द रहने
India nepal border


पटना, ०८ नोभेम्बर (हि.स.)। बिहार विधानसभाको दोस्रो चरणको मतदानलाई ध्यानमा राख्दै ९ नोभेम्बर बिहानदेखि ११ नोभेम्बरसम्म नेपाल–भारत सीमा पूर्ण रूपमा बन्द रहनेछ। दोस्रो चरणको मतदान ११ नोभेम्बरमा हुनेछ। यसलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। मधुबनी जिल्लाको जयनगरदेखि नेपालका जनकपुरसम्म चल्ने रेलसेवा पनि यस अवधिमा बन्द रहनेछ। बिहारको सीमा नेपालसँग करिब ७२९ किलोमिटर फैलिएको छ। बिहारका सीमावर्ती जिल्लाहरू पश्चिम चम्पारण, पूर्वी चम्पारण, शिवहर, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंजमा ११ नोभेम्बरमा मतदान हुनेछ।

अररिया जिल्लामा नेपाल–भारत सीमा क्षेत्रमा स्थानीय पुलिस र सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूले राति संयुक्त गस्ती गरिरहेका छन्। अररिया पुलिस अधीक्षक अञ्जनी कुमारले यसबारे पुष्टि गरेका छन्। संयुक्त गस्तीको उद्देश्य विधानसभाको निर्वाचनलाई लक्षित गर्दै सीमाक्षेत्रमा हुन सक्ने अवैध क्रियाकलापमाथि निगरानी राख्नु र शान्ति तथा कानुनी व्यवस्था कायम राख्नु हो। जिल्लामा ९० भन्दा बढी नाकाहरूमा विशेष निगरानी राखिएको छ।

सशस्त्र सीमा बल (एसएसबी) को ४८औं बटालियन, जयनगरले निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त बनाउन जिल्ला प्रशासनलाई पत्र लेखेको छ। उक्त पत्रमा नेपालतर्फका रेलसेवा आइतबारदेखि मंगलबारसम्म बन्द गरिनुपर्ने सुझाउ दिइएको छ। मधुबनी जिल्ला प्रशासनको सिफारिसमा पूर्व मध्यक्षेत्रीय रेल (हाजीपुर) कार्यालयले नेपालका रेलवे अधीक्षकलाई यससम्बन्धी पत्र पठाइसकेको छ।

जयनगर (नेपाल) रेलवे स्टेशनका अधीक्षक एस.एल. मीणाले जनकपुर–बिजलपुरा रेलसेवाको अन्तिम सञ्चालन आज हुने जानकारी दिएका छन्। उनका अनुसार, बुधबारदेखि नेपाल रेलसेवा पुनः नियमित रूपमा सञ्चालनमा आउनेछ, तर आइतबारदेखि मंगलबारसम्म रेल सञ्चालन बन्द रहनेछ।

उल्लेखनीय छ, बिहार विधानसभाको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा कारणले नेपाल–भारत सीमा ८ नोभेम्बर बिहानदेखि ११ नोभेम्बर साँझ ६ बजेसम्म पूर्ण रूपमा बन्द राखिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande