
कोलकाता, 08 नोभेम्बर (हि.स.)। लामो प्रतीक्षा पश्चात पस्चिम बंगाल स्कूल सर्भिस कमिशन (डब्ल्यूबीएसएससी)-ले शुक्रवार एघारौं-बाह्रौं कक्षाका शिक्षकहरूको भर्ती परीक्षा-2025 को परिणाम जारी गऱ्यो। तर आयोगको वेबसाइट ठप्प रहेको कारण अधिकांश उम्मेद्वारहरूले अबेर रातीसम्म आफ्नो रिजल्टलाई अनलाइन हेर्न सकेनन्।
आयोग सूत्र अनुसार एघारौं-बाह्रौं स्तरको लगभग सवा दुई लाख उम्मेद्वारहरूको परिणाम एकैसाथ अपलोड गरेको कारणले वेबसाइटमा अत्यधिक चाप पऱ्यो। यसबीच ग्रुप सी र ग्रुप डी पदको निम्ति भइरहेको भर्ती प्रक्रियाको लागि सर्वर उपयोग भएको कारणले वेबसाइट केही घण्टासम्म ठप्प रह्यो। उम्मेद्वारहरूले आरोप लगाए, आयोगको साइटलाई “क्र्याश” गरियो। यद्यपि एसएससी अधिकारीहरूले दाबी गरे, राती 12 बजेपछि अधिकांश परीक्षार्थीहरू आफ्नो अंक हेर्न सक्षम भए।
स्मरण गराइन्छ, सुप्रीम कोर्टको निर्देशमा यसै वर्षको अप्रेलमा वर्ष 2016-को एसएससी भर्ती प्रक्रियालाई रद्द गरिएको थियो जसान्तर्गत 26 हजार शिक्षण-अशिक्षणकर्मीहरूको नियुक्ति भएको थियो जसमा 17 हजार 206 जना शिक्षक सामेल थिए।
डब्ल्यूबीएसएससीका सचिवले एक विज्ञप्तिमा बताए, इन्टरभ्युको लागि चयनित उम्मेद्वारहरूको सूची शीघ्र नै प्रकाशित गरिनेछ। यी उम्मेद्वारहरूको दस्तावेजहरूको सत्यापन प्रक्रिया आगमी 17 नोभेम्बरदेखि शुरू हुने सम्भावना छ। विस्तृत कार्यक्रम आयोगले चाँड़ै जारी गर्नेछ।
आयोगले स्पष्ट पाऱ्यो, इन्टरभ्यु प्रक्रिया पुरानै क्षेत्रीय प्रारूप अनुसार हुनेछ। डब्ल्यूबीएसएससीका पाँच क्षेत्रीय कार्यालयहरू यस व्यवस्थाको निम्ति पहिलाबाटै तयार भएर बसेका छन्। यस पद्धति अनुरूप उम्मेद्वारहरूलाई कोलकाता जाने आवश्यकता छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा