एनआईटी सिक्किमले 15 दिसम्बरको दिन राभङलामा आठौं दीक्षान्त समारोह आयोजित गर्ने
एनआईटी सिक्किमले 15 दिसम्बरको दिन राभङलामा आठौं दीक्षान्त समारोह आयोजित गर्ने


राभङला, 13 दिसम्बर (हि.स.)। राष्ट्रिय प्रविधि संस्थान, सिक्किमले 15 दिसम्बरको दिन राभङलास्थित तथागत स्थलमा (बुद्ध उद्यान) आठौं दीक्षान्त समारोह आयोजित गर्नेछ। समारोहमा 2025 मा स्नातक उत्तीर्ण गर्ने ब्याजको शैक्षणिक उपलब्धिको उत्सव मनाउँदै विभिन्न सङ्कायका विद्यार्थीलाई डिग्री प्रदान गरिनेछ। उक्त जानकारी आज पीआईबीले दिएको छ।

यस अवसरमा राज्यका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिका रूपमा उपस्थित भई दीक्षान्त सम्बोधन गर्नेछन्। आईआईटी खडगपुरका पूर्व निर्देशक अनि सिक्किम सरकारका पूर्व क्याबिनेट सचिव जीपी उपाध्याय विशेष अतिथिका रूपमा उपस्थित रहनेछन्।

समारोहको अध्यक्षता एनआईटी सिक्किमको बोर्ड अफ् गभर्नर्सका अध्यक्ष रमेशकुमार सारोगीले गर्नेछन्। एनआईटी सिक्किमका निर्देशक प्रो. महेशचन्द्र गोविलले प्रमुख उपलब्धिका साथमा विगतका वर्षका विकासक्रमहरू प्रकाश पार्दै संस्थानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

यस वर्ष संस्थानले आठजनालाई विद्यावारिधि, 15 जनालाई एम.टेक, 7 जनालाई एमएससी र 134 जनालाई बी.टेक डिग्री प्रदान गर्नेछ। शैक्षणिक उत्कृष्टताको निम्ति विभिन्न श्रेणी अन्तर्गत सातवटा स्वर्ण पदक पनि प्रदान गरिनेछ।

वर्ष 2010 मा भारत सरकारको शिक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय महत्त्वको संस्थानका रूपमा स्थापित एनआइटी सिक्किमले तीव्र गतिमा शैक्षणिक, अनुसन्धान अनि सामुदायिक जनसम्पर्कमा अग्रता हासिल गरेको छ। उत्कृष्टताको संस्कार पोषित गर्दै गुणस्तरीय शिक्षा अनि प्रभावपूर्ण अनुसन्धानको माध्यमद्वारा राष्ट्रिय विकासमा अर्थपूर्ण योगदान पुऱ्याउन संस्थान प्रतिबद्ध रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande