सर्जक कुबेरचन्द्र दाहालकृत उपन्यास ‘टिस्टा-रङ्गीत’ को सिलगढ़ी लोकार्पण सम्पन्न
सर्जक कुबेरचन्द्र दाहालकृत उपन्यास ‘टिस्टा-रङ्गीत’ को सिलगढ़ी लोकार्पण सम्पन्न


सिलगढ़ी, 13 दिसम्बर (हि.स.)। सिक्किमवासी सर्जक कुबेरचन्द्र दाहालकृत उपन्यास ‘टिस्टा-रङ्गीत’ को सिलगढ़ी लोकार्पण १३ दिसम्बर, २०२५ लोकार्पण समारोह आयोजन समिति एवं कृतिको प्रकाशक बुक-आण्ट पब्लिकेशन हाउसको संयुक्त तत्त्वावधानमा आयोजित भएको छ। सिलगढ़ीको भानुभक्त समिति भवनमा अवस्थित बुक-आण्टद्वारा सञ्चालित किताब केफेमा सम्पन्न समारोहमा अध्यक्षता भूतपूर्व प्राध्यापक उत्तरबङ्ग विश्वविद्यालय लक्ष्मीकान्त शर्माले गरेका थिए भने मुख्य अतिथि साहित्य चौतारी सांस्कृतिक प्रतिष्ठान, बिर्तामोड़का अध्यक्ष एवं संरक्षक देवीभक्त श्रेष्ठ थिए ।

समारोहमा कृति “टिस्टा रङ्गीत”-को विधिवत लोकार्पण लक्ष्मीकान्त शर्मा, देवीभक्त श्रेष्ठ, प्राध्यापक डाक्टर मोहन पी दाहाल एवं सर्जक कुबेरचन्द्र दाहालले गरेका थिए। कृतिमाथि सारगर्भित निरूपण प्रसिद्ध गायक, नाट्यकार, साहित्यकार जगदीश शर्माले राखेका थिए।

सर्जक संवाद सत्रमा सर्जक कुबेरचन्द्र दाहालसँग वरिष्ठ पत्रकार एवं बुद्धिजीवी अशोक प्रशान्तले चलाएका थिए। सर्जक संवादमा बोल्दै लेखक कुबेरचन्द्र दाहालले भने, “भारतभरिका नेपाली जातिको स्वार्थमा भारतीय संविधान नेपालीमा अनुवाद गर्ने एक्लो योजना बनाएको थिएँ। मैले गरेको काम अनूदित कृतिको सफलताको प्रमाण यसको तेस्रो संस्करणसम्मको प्रकाशनले दिएको छ।”

उनले थपे, “टिस्टा-रङ्गीत सिक्किम र दार्जीलिङको भाषिक-सांस्कृतिक सम्बन्धको सृजनात्मक दस्तावेज बनाउने ध्येयले लेखेको हुँ,” लेखकले थपे। “भारतीय नेपालीहरूले भोग्नुपरेका पीड़ाहरू, पहिचानको सङ्कट, विस्थापनको सङ्कटलाई नजीकबाट देखे-बुझेको हुनाले मेरो उपन्यासमा ती विषयहरूलाई केन्द्रीय विषय-वस्तु बनाउने प्रयास गरेको छु,” लेखकले भने।

समारोहमा लक्ष्मीकान्त शर्मा एवं जीवन अधिकारीलाई संवर्द्धना जानइएको थियो। नेपालवासी लोकप्रिय कवि लीला अनमोलले कविता पाठ गरिन्। कार्यक्रममा सर्जकको परिचयस्वरूप श्रव्य-दृश्य प्रस्तुति राखिएको थियो। उत्तम अधिकारी एवं जुनु गौतमले उद्बोधन गीत गाएका थिए।

स्वागत सम्बोधन एवं प्रकाशकीय वक्तव्य बुक-आण्ट पब्लिकेशन हाउसका निर्देशक राजा पुनियानीले राखेका थिए भने समारोहको सञ्चालन युवराज सुन्दासले गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande