
कोलकाता, १३ दिसम्बर (हि.स.)। भारतको तीनदिने भ्रमणमा शुक्रबार अबेर राति कोलकाता पुगेका अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीको भव्य स्वागत गरिएको छ। राति कोलकाता विमानस्थलमा ठूलो संख्यामा उपस्थित समर्थकहरूले मेसीलाई न्यानो स्वागत र अभिनन्दन गरे।
शनिबार लियोनेल मेसीको कार्यक्रम अत्यन्त व्यस्त रहनेछ। आज बिहान ९:३० देखि १०:३० बजेसम्म हावडा ब्रिजमा समर्थक तथा खेलप्रेमीहरूका साथ मेसीलाई लिएर विशेष कार्यक्रम आयोजना गरिएको छ। त्यसपछि मेसी युवा भारती क्रीडांगन (साल्टलेक स्टेडियम) जानेछन्, जहाँ सांस्कृतिक कार्यक्रमसहित नृत्य र संगीत प्रस्तुतिहरू हुनेछन्। विशेष आकर्षणका रूपमा ‘मेसी अल स्टार बनाम डायमण्ड हार्बर अल स्टार’ फुटबल प्रतियोगिता पनि आयोजना गरिनेछ।
बिहान करिब १०:५० बजे स्टेडियममा मेसीको प्रवेश हुने अनुमान गरिएको छ। कार्यक्रममा उनले विभिन्न वर्गका मानिसहरूसँग भेटघाट गर्नेछन्, बंगालका ट्रफी विजेता टोलीलाई सम्मानित गर्नेछन् तथा युवा खेलाडीहरूसँग विशेष ‘मास्टर क्लास’ सत्रमा पनि सहभागी हुनेछन्। साथै, उनलाई राजकीय सम्मान प्रदान गर्ने योजना पनि छ।
आयोजनसँग सम्बन्धित स्रोतका अनुसार, यस अवसरमा अन्तरराष्ट्रिय फुटबल स्टार लुईस सुआरेज र रोड्रिगो डे पलको उपस्थिति पनि सम्भावित छ। यसका साथै पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले र भारतीय क्रिकेटका पूर्व कप्तान सौरभ गांगुलीसँग मेसीको भेटघाट पनि तय भएको बताइएको छ।
कोलकाताका कार्यक्रमपछि मेसी चार राज्यको भ्रमणमा निस्कनेछन्। यस अन्तर्गत हैदराबाद, मुम्बई र दिल्लीमा पनि फुटबल, युवा संवाद तथा सम्मान समारोहसम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गरिनेछन्। यी शहरहरूमा पनि उनको स्वागतलाई लिएर खेलप्रेमीहरूमा विशेष उत्साह देखिएको छ।
कार्यक्रमअन्तर्गत नेताजी सुभाषचन्द्र बोसको ७० फिट अग्लो प्रतिमाको लोकार्पण, स्टेडियम परिक्रमा तथा दिउँसो २:०५ बजे निजी विमानबाट डायमण्ड हार्बरतर्फ प्रस्थान गर्ने कार्यक्रम पनि उल्लेख गरिएको छ।
आयोजकहरूको भनाइ अनुसार, यो कार्यक्रम केवल लियोनेल मेसीको सम्मानका लागि मात्र नभई भारतको फुटबल संस्कृतिलाई विश्व मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्ने ऐतिहासिक अवसर पनि हुनेछ।
उनको भारत आगमनलाई अविस्मरणीय बनाउन देशका चार राज्यमा विशेष कार्यक्रमहरूको विस्तृत रूपरेखा सार्वजनिक गरिएको छ। आयोजकहरूले जारी गरेको जानकारीअनुसार, कोलकातासँगै हैदराबाद, मुम्बई र दिल्लीमा पनि मेसीका कार्यक्रम प्रस्तावित छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी