
गान्तोक, 13 दिसम्बर (हि.स.)। सिङताम खाम्दोङ निर्वाचन क्षेत्रका विधायक तथा राज्य सड़क एवं पुल विभागका मन्त्री एनबी दाहालले आज बिहान गान्तोकको भीआईपी कोलोनीस्थित आफ्नो सरकारी निवासमा आयोजित एक संक्षिप्त कार्यक्रममा सिङताम ब्याडमिन्टन संघद्वारा विधायकको प्रायोजन र सिङताम नगर पञ्चायतको सहयोगमा आयोजित शीतकालीन ब्याडमिन्टन शिविरको उद्घाटन गरे। यस अवसरमा मन्त्री दाहालकी धर्मपत्नि सबिना राई दाहाल, सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश तामाङ, ओएसडी शर्मिला छेत्री, सिङताम ब्याडमिन्टन संघका अध्यक्ष तथा महासचिव, युवा ब्याडमिन्टन खेलाडीहरू र पार्टीका कार्यकर्ताहरू उपस्थित थिए।
मन्त्री दाहालको सहयोगमा सञ्चालित शिविरले लामो शीतकालीन बिदाको समयमा विद्यार्थीहरूलाई रचनात्मक गतिविधिहरूमा संलग्न गराउने लक्ष्य राखेको छ, जसले गर्दा उनीहरूलाई लागूपदार्थको दुरुपयोग जस्ता कुलतहरूबाट सुरक्षित दूरी कायम राख्न मद्दत मिल्नेछ। शिविरले मुख्यमन्त्री प्रेमसिंह तामाङको सिक्किमलाई लागूऔषधमुक्त, फिट र स्वस्थ एवं खेलकुद राज्य बनाउने परिकल्पना अनुरूप खेलकुद संस्कृति अपनाएर फिट र स्वस्थ जीवनलाई प्रवर्द्धन गर्ने लक्ष्य पनि राखेको बताइएको छ।
कार्यक्रममा मन्त्री दाहालले भविष्यमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका प्रतियोगिताहरूमा आफ्नो क्षेत्र र राज्यको प्रतिनिधित्व गर्ने लक्ष्य राख्न आह्वान गर्दै विद्यार्थीहरूलाई शिविरको पूर्ण उपयोग गर्न आग्रह गरे। उनले ब्याडमिन्टन संघ सिङताम र सिङताम नगर पञ्चायतले गरेको यो प्रयासको पनि प्रशंसा गरे।
हिन्दुस्थान समाचार / बिशाल