मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे, महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने
मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे


गान्तोक, 13 दिसम्बर (हि.स.)। अखिल किरात राई संघ (एकेआरएस) को तत्वावधानमा आज स्यारी निर्वाचन क्षेत्रको पाब्युक, नैताममा राज्यस्तरीय साकेवा समारोह 2025 भव्यरूपमा आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा समृद्ध सांस्कृतिक परम्पराहरूको संरक्षण एवं प्रवर्द्धनका साथै अगाड़ी बढ़ाएर लैजानु पर्ने आवश्यकतामाथि जोड दिॅंदै हरेक साल नैताम गाउॅंमा साकेवा समारोह आयोजन गर्न आह्वान गरे। उनले सिक्किम विविधतामा एकताको लागि प्रसिद्ध रहेको उल्लेख गर्दै युवाहरूलाई आफ्नो संस्कृति र परम्पराहरूको सुरक्षा र प्रवर्द्धनको जिम्मेवारी लिन आह्वान गरे।

शिक्षाको क्षेत्रमा राज्य सरकारका विभिन्न पहलहरूको बारेमा अवगत गराउॅंदै मुख्यमन्त्रीले छुटेका 12 समुदायलाई जनजातिको मान्यता दिलाउने दिशामा सरकारका प्रयासहरूको पनि उल्लेख गरे। आफ्नो सम्बोधनको क्रममा उनले राज्य सरकारद्वारा धरोहर संरक्षक पुरस्कार गठन गरिने र हरेक दुई वर्षमा 15 अगस्तका दिन प्रदान गर्ने घोषणा गरे। यो पुरस्कार आफ्नो संस्कृति र धरोहरको संरक्षण र प्रबर्द्धनमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने उनले बताए।

यस अघि क्षेत्र विधायक तेन्जिङ नर्बु लाम्टाले संस्कृति र परम्पराहरूको सुरक्षा गर्नु पर्ने आवश्यकतामा​थि जोड दिॅंदै सामुदायिक सद्भावलाई बढावा दिन एकेआरएसको प्रयासहरूको सराहना गरे। क्षेत्रका कतिपय विषयहरू राख्दै उनले पर्यटन विकासको धेरै सम्भावनाहरू रहेको र यो क्षेत्र पर्यटन केन्द्र बन्ने आशा व्यक्त गरे। उनले क्षेत्रमा भएका विकास कार्यहरूको जानकारी गराउॅंदै निरन्तर समर्थनको लागि मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे।

एकेआरएसका अध्यक्ष डा. बिमल कुमार राईले आफ्नो सम्बोधनमा राई समुदायको इतिहासमाथि प्रकाश पार्दै यहॉं अब वार्षिक रूपमा कार्यक्रम आयोजना गरिने बताए। उनले साकेवा पर्वको सांस्कृतिक, आध्यात्मिक र सामाजिक महत्व तथा किरात राई समुदायको समृद्ध परम्पराहरूको संरक्षणमा यसको महत्वपूर्ण भूमिकाको बारेमा पनि जानकारी गराए।

समारोहको शुरुवात साकेवा महोत्सवका महत्वपूर्ण अनुष्ठानका साथ गरिएको थियो। मुख्यमन्त्री तामाङले स्टलहरू र माङखिमको पनि भ्रमण गरेका थिए। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande