
गान्तोक, 25 दिसम्बर (हि.स.)। याङगाङको कारोङथाङमा राज्यस्तरीय तमु लोछार समारोह 2025 को आयोजनलाई लिएर चलिरहेको तयारीको आज अन्तिम तयारी तथा समीक्षा सम्बन्धी बैठक सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता मन्त्री पुरण कुमार गुरुङ र विधानसभा उपाध्यक्ष राजकुमारी थापाले संयुक्त रूपमा गरेका थिए।
बैठकमा भोजन व्यवस्थापन, स्वयंसेवक समन्वय, रोधी घरको तयारी, मञ्च व्यवस्थापन, कार्यक्रम समन्वय तथा रसद योजना लगायत सम्पूर्ण व्यवस्थाहरूको विस्तृत समीक्षा गरियो। साथै, अन्तिम कार्यक्रम संरचना र कार्यान्वयन योजनालाई पनि स्वीकृति प्रदान गरियो।
उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङ आगामी २७ दिसम्बर, २०२५ मा करोङथाङ, याङगाङमा आयोजना हुने उक्त समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी बन्ने बताइएको छ। राज्य स्तरीय तमु लोछार समारोहले सिक्किमे गुरुङ समुदायको समृद्ध संस्कृति र परम्परालाई उजागर गर्नुका साथै सिक्किममा सामुदायिक सद्भाव र एकताको भावना थप सुदृढ़ गर्ने बताइएको छ।
बैठकमा मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, खाद्य प्रशोधन विभागका सल्लाहकार एवं समारोह समिति अध्यक्ष सीएल गुरुङ, ओएसडी एसबी राई, ओएसडी डेन्किला भोटिया तमु लोछार समारोह समितिका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल