
कोलकाता, 26 दिसम्बर (हि. स.)। बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भएको हमलाको विरोधमा कोलकातामा शुक्रवार हिन्दू संगठनहरूले प्रदर्शन गरे। हिन्दू संहतिका कार्यकर्ताहरूले सियालदहदेखि मार्च निकालेर बंगलादेश उप-उच्चायोग कार्यालयसम्म जाने प्रयास गरे अनि त्यहाँ एक प्रतिनिधिमण्डलको माध्यमबाट छः सूत्रीय माग उल्लेखित ज्ञापन सुम्पिए।
संगठनको तीन सदस्यीय प्रतिनिधिमण्डलले उप-उच्चायोगका एकजना वरिष्ठ अधिकारीसित भेट गऱ्यो। ज्ञापनमा गत 18 दिसम्बरको दिन मयमनसिंहमा भएको दिपु चन्द्र दासको हत्याका दोषीहरूलाई कड़ा सजाय दिने, घटना हुँदा लापरवाही गर्ने पुलिस अधिकारीहरूमाथि कारबाही गर्ने तथा उनीहरूको धार्मिक स्थलहरूको सुरक्षा सुनिश्चित गर्ने माग गरियो।
हिन्दू संहतिको सल्लाहकार समितिका सदस्य रजत रायले भने, प्रतिनिधिमण्डलले यो पनि माग राख्यो, हिन्दु तथा अन्य अल्पसंख्यकविरूद्ध अफवाह फैलाउनेहरूमाथि बंगलादेश सरकारले कड़ा कारबाही गरोस्, किनभने यस्तो अफवाहबाट हिंसा भड़्किरहेको छ। धार्मिक असहिष्णुता फैलाउने तथा अन्य धर्मका अनुयायीहरूलाई हिंसाको लागि उक्साउनेहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ।
प्रतिनिधिमण्डलका सदस्यहरू अनुसार उप-उच्चायोगका अधिकारीले भरोसा दिलाए, सबै मागहरूलाई बंगलादेश सरकारसम्म पुऱ्याउनेछ। प्रदर्शन अवधि पुलिसले कड़ा सुरक्षा व्यवस्था गऱ्यो। उप-उच्चायोग कार्यालय वरपर ब्यारिकेड लगाइयो अनि सम्पूर्ण क्षेत्रलाई छाउनीमा परिणत गरियो ताकि प्रदर्शनकारीहरू परिसरसम्म पुग्न नसकुन्।
मार्चलाई बेकबागानस्थित कार्यालयदेखि केही टाड़ा रोक्दा प्रदर्शनकारीहरूले एजेसी बोस रोडमा धरना शुरू गरे। पछि तीनजना सदस्यहरूलाई मात्र भेट गर्ने अनुमति दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा