जीटीए प्रमुख अनित थापाद्वारा घैयाबारीमा उदय संघ सार्वजनिक भवनको उद्घाटन
Community hall inauguration


खरसाङ, 26 दिसम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले खरसाङको घैयाबारीस्थित उदय संघ सार्वजनिक भवनको उद्घाटन गरेका छन्। जीटीए प्रमुख अनित थापा आज घैयाबारी पुग्दा स्थानीयहरुले भव्य स्वागत जनाएका थिए।

सिँचाई विभागद्वारा लगभग 70 लाख रुपियाँको लागतमा निर्माण गरिएको घैयाबारीको उदय संघ सार्वजनिक भवनको उद्घाटन जीटीए प्रमुख अनित थापाको विशेष उपस्थितिमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले गरे। उक्त सार्वजनिक भवनको उद्घाटन समारोहको अध्यक्षता उदय संघ घैयाबारीको वरिष्ठ सदस्य एवं भूतपूर्व सैनिक सुरज तामाङले गरेको थियो।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्मले‌ सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण क्षेत्रीय सभासद नवराज छेत्रीले राखेका थिए। कार्यक्रममा घैयाबारीको उदय संघ सार्वजनिक भवनको लागि स्थानीयहरुले जीटीए प्रमुख अनित थापालाई सम्बर्द्धना जनाइयो। उदय संघको तर्फबाट सभापति अञ्जली लामा, उप सभापति सरिता गुरुङ र सचिव बिनोद तामाङ आदिको बाहुलीबाट जीटीएलाई सम्बर्द्धना जनाइयो।

कार्यक्रममा उदय संघको तर्फबाट सचिव विनोद तामाङले जीटीए प्रमुख अनित थापालाई सार्वजनिक भवनको लागि धन्यवाद दिए। 1975 सालमा स्थापना भएको घैयाबारीको उदय संघको सार्वजनिक भवन नभएकाले स्थानीयहरुलाई धेरै असुविधा भइरहेको थियो। सार्वजनिक भवन निर्माण भएर उद्घाटन गरिएकाले अब सबैलाई सुविधा हुने भएको छ। यस सार्वजनिक भवन उद्घाटन कार्यक्रममा सभासद ढेण्डिप पाख्रीन, घैयाबारी ग्राम पञ्चायत तीनका पञ्चायत प्रधान सुष्मा वाईबा, पञ्चायत समिति सदस्य दावा वाङ्दी लामा र कुसुम तामाङ, भागोप्रमो खरसाङ महकुमा समितिका उप सभापति प्रेम प्रधान, तीनधारे महानदी समष्टिका सभापति राजीव थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande