
खरसाङ, 27दिसम्बर (हि.स.)। गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा खरसाङमा गिरी जयन्ती समारोह सम्पन्न भएको छ। खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा जातीय कवि अगमसिंह गिरीको 99 औँ जन्मजयन्ती समारोह श्रद्धाञ्जली कार्यक्रमको रुपमा सम्पन्न गरियो।
उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयका उपाध्यक्ष कृष्ण पाण्डेले गरेका थिए भने प्रमुख अतिथिको रुपमा पुस्तकालयका पूर्व सभापति एवं वरिष्ठ समाजसेवी तिलक शर्मा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकार, समाजसेवी तथा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा उपस्थित थिइन्। पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अन्यहरुका बाहुलीबाट जातीय कवि अगमसिंह गिरीको सालिगमा धुप दीप प्रज्ज्वलन साथै माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरियो।
कार्यक्रममा प्रमुख अतिथि तिलक शर्माले गोर्खा जातीय विभूति उद्यानमा रहेको कवि गिरीको सालिग स्थापना विषयमा साथै शिलान्यास र अनावरण विषयमा जानकारी गराए। सभाध्यक्ष कृष्ण पाण्डेले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए। यसपाली पुस्तकालयको आयोजनामा कवि गिरीको श्रद्धाञ्जली अर्पण कार्यक्रम मात्र आयोजना गरिएको र आगामी वर्ष कवि गिरीको शतवार्षिकी समारोह भव्य रुपमा आयोजना गरिने पुस्तकालयका सचिव विनोद रसाइलीले बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक