सुवास घिसिङ स्मृति नागरिक सम्मान पुरस्कार 22 जूनमा हुने
सुवास घिसिङ स्मृति नागरिक सम्मान पुरस्कार 22 जूनमा हुने


सोनादा, 12 जून (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट यसपालीदेखि प्रदान गरिने सुवास घिसिङ स्मृति सम्मान पुरस्कार अलङ्करण आगामी 22 जूनको दिन दार्जिलिङको गोर्खा रंगमञ्च भवनमा आयोजना गरिने भएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले जीटीए प्रमुख अनित थापाको नेतृत्व र दिशा निर्देशनमा जीटीए क्षेत्रमा नागरिक सम्मान पुरस्कारको रुपमा सुवास घिसिङ स्मृति सम्मान पुरस्कार प्रदान गरिने भएको बताए। उनले उक्त पुरस्कार अलङ्करण समारोह आगामी 22 जूनको दिन दार्जिलिङको गोर्खा रंगमञ्च भवनमा आयोजना गरिने बताए।

कार्यकारी सभासद अनोश थापाले सुवास घिसिङ गोर्खात्वको जनक हुन् भनी बताए। उनले भने, हुन त गोर्खात्वको प्रकाश पार्ने डम्बरसिंह गुरुङ पनि हुन्, तर अस्सीको दशकमा सुवास घिसिङले गोर्खात्व र गोर्खाल्याण्ड शब्दलाई जनमानस समक्ष ल्याएका थिए। त्यसैले सुवास घिसिङलाई गोर्खात्व र गोर्खाल्याण्ड शब्दको जनक मान्न सकिन्छ। भारतीय परिप्रेक्ष्यमा हामीले आफ्नो परिचय र हाम्रो पहिचान संकटको विषम परिस्थितिमा परिचय ल्याउने सुवास घिसिङको नाममा सम्मान पुरस्कार शुरु गरिएको हो।‌'

सभासद थापाले अघि भने, 'स्व सुवास घिसिङको महानतालाई स्वीकार गर्छौं र उनको नाममा नागरिक सम्मान पुरस्कारको शुरु गरिएको छ। यसपाली यो सम्मान पुरस्कार वरिष्ठ राजनीतिज्ञ एवं पूर्व विधायिका रेणुलिना सुब्बालाई प्रदान गरिने भएको छ। उनी गोर्खा नारीमा हुनुपर्ने वीरंगना थिइन्। आईरन लेडी रेणुलिना सुब्बालाई प्रथम सुवास घिसिङ स्मृति नागरिक सम्मान पुरस्कार प्रदान गर्न पाउँदा हामी विभाग साथै जीटीए नै हर्षले गर्वित छौँ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande